काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी प्रख्यात न्यायविद् नवानथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिएको छ । नर्वेजियन नोबेल समितिका अनुसार युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था सुदृढ बनाउन योगदान पुर्याएकाले पिल्लेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
भारतीय तमिल मूलको परिवारमा दक्षिण अफ्रिकाको डरबनमा जन्मिएकी पिल्लेले रंगभेदविरुद्ध कानुनी क्षेत्रमा काम गरेकी थिइन् । उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्यायाधीशका रूपमा सेवा गरिसकेकी छन् । उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तसमेत बनेकी थिइन् ।
पिल्लेले बलात्कार तथा यौन हिंसालाई मानवताविरुद्धको अपराध र नरसंहारका रूपमा स्थापित गर्ने कानुनी प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
समितिले अन्तर्राष्ट्रिय कानुन, न्याय र मानव मर्यादाको रक्षामा पिल्लेको निरन्तर योगदानले शान्तिपूर्ण विश्व निर्माणको प्रयासलाई बल पुर्याएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology