काठमाडौँ । सन् २०२६ को शरद् ऋतुमा अहिलेसम्म नेपालका ४१ हिमाल आरोहणका लागि ७१ देशका १ हजार ९८ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागले सार्बजनिक गरेको विवरण अनुसार आरोहण अनुमतिबापत १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ ।
विभागको विवरणअनुसार आरोहण अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन् । उनीहरू १३० आरोहण समूहमा आबद्ध छन् । हिमालअनुसारको विवरणमा मनास्लु आरोहणका लागि सबैभन्दा धेरै ५०० जनाले अनुमति लिएका छन् । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण अनुमतिबाट मात्र १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । यो कुल रोयल्टीको करिब ८० प्रतिशत हो।
मनास्लुपछि आमादब्लमबाट सबैभन्दा धेरै रोयल्टी सङ्कलन भएको छ । ६ हजार ८१४ मिटर अग्लो आमादब्लम आरोहणका लागि १७८ जनाले अनुमति लिएका छन् । यसबाट १ लाख ७८ हजार अमेरिकी डलर अर्थात् २ करोड ७३ लाख १५ हजार ५०० रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
त्यस्तै, ६ हजार २६५ मिटर अग्लो हिमलुङ आरोहणका लागि ९४ जनाले अनुमति लिएका छन् । यसबाट ३७ हजार ६०० अमेरिकी डलर अर्थात् ५७ लाख ८८ हजार ९६० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । ८ हजार १६७ मिटर अग्लो धौलागिरि प्रथमबाट ३७ आरोहीमार्फत ५५ हजार ५०० अमेरिकी डलर अर्थात् ४८ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी प्राप्त भएको विवरणमा उल्लेख छ।
अन्य हिमालमध्ये चाम्लाङ र बरुणत्सेमा १९–१९ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण प्रथममा १९, सगरमाथामा चार, मकालुमा तीन र धौलागिरि दोस्रोमा ६ जनाले आरोहण अनुमति लिएका छन् ।
देशअनुसार चीनका सबैभन्दा धेरै १३२ आरोहीले अनुमति लिएका छन् । त्यस्तै, रुसका ९६, अमेरिकाका ९४, फ्रान्सका ९३, जर्मनीका ८० र बेलायतका ७४ आरोहीले अनुमति लिएका छन्। अस्ट्रेलियाका ३३, जापानका २८, इटालीका २८, स्विट्जरल्यान्डका २८, क्यानडाका २७, नेपालको २६ र भारतका २२ आरोही पनि सूचीमा छन्।
यसैगरी, स्पेनका २१, दक्षिण कोरियाका १०, स्लोभेनियाका नौ, ब्राजिलका चार, सिङ्गापुरका चार, पोल्यान्डका २९, नर्वेका आठ र नेदरल्यान्ड्सका ११ आरोहीले अनुमति लिएका छन् ।
विभागको विवरणमा अर्जेन्टिना, बेल्जियम, बुल्गेरिया, चिली, कोलम्बिया, कोस्टारिका, क्रोएसिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इक्वेडर, इस्टोनिया, फिनल्यान्ड, जर्जिया, ग्रिस, हङकङ, हङ्गेरी, आइसल्यान्ड, इन्डोनेसिया, इरान, आयरल्यान्ड, इजरायल, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाट्भिया, लिथुआनिया, लक्जेम्बर्ग, उत्तर म्यासेडोनिया, मलेसिया, मेक्सिको, मोल्डोभा, मोन्टेनेग्रो, न्युजिल्यान्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्लोभाकिया, दक्षिण अफ्रिका, स्विडेन, ताइवान, थाइल्यान्ड, युक्रेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला र भियतनामलगायत देशका आरोहीले पनि विभिन्न हिमालको आरोहण अनुमति लिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology