काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा सरकारको चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसमा कर राजस्व १ खर्ब ७२ अर्ब ४३ करोड र गैरकर राजस्व १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ। प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँट हुने रकमसमेत कुल राजस्व परिचालनमा समावेश गरिएको छ ।
कुल सरकारी राजस्वमा अप्रत्यक्ष करको हिस्सा ७५.३ प्रतिशत, प्रत्यक्ष करको हिस्सा १८.२ प्रतिशत, गैरकर राजस्वको हिस्सा ५.८ प्रतिशत र अन्य प्राप्तिको हिस्सा ०.७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष करको हिस्सा घटेको छ भने अप्रत्यक्ष कर र गैरकर राजस्वको हिस्सा बढेको छ ।
भदौ मसान्तसम्म सरकारका विभिन्न खातामा ३ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । असार मसान्तमा यस्तो मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ थियो । यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश छ ।
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले यस अवधिमा २४ अर्ब ५४ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन् । त्यसमध्ये सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटको रकम १६ अर्ब ३८ करोड रुपैयाँ र प्रदेश सरकारको आन्तरिक स्रोत तथा अन्य प्राप्ति ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology