काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत्ति र शोकबीच मनाउन लागिएको बडादसैँले नेपाली समाजलाई अझ सुदृढ र एकताबद्ध बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
विजयादशमी, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।
उनले यस वर्षको दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । विपत्तिका कारण हजारौँ परिवार घरबारविहीन र विस्थापित हुनुपरेको उनले बताएका छन् ।
लामिछानेले भनेका छन्, 'सङ्कटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ ।'
नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उनले असत्यमाथि सत्यको विजयको पर्वले निराशाबाट आशा र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology