काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै उठेका प्रश्नबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ ।बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी कार्यविधि तय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट प्राप्त कागजात अध्ययन गरिरहेको छ ।
गत प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । उनीहरूको पोसाकका लागि करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो । छोटो अवधिका लागि नियुक्त निर्वाचन प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भन्दै प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको थियो ।
झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology