काठमाडौं । इजिप्टको गिजा सहरनजिक दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।
नोभेम्बर ८ मा भएको दुर्घटनामा काइरोबाट दक्षिणतर्फ गइरहेका दुई रेल ठोक्किएका थिए । ठक्करका कारण रेलका कैयौँ डिब्बा लिकबाट खसेर भिरालो स्थानमा पुगेका थिए ।
दुर्घटनापछि घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरी राहत तथा उद्धार अभियान सञ्चालन गरिएको थियो । दुर्घटनास्थलका तस्बिरमा पल्टिएका डिब्बाभित्र फसेका घाइते यात्रुको खोजी भइरहेको देखिएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न र लापरबाही गरेको पुष्टि भए दोषीमाथि कारबाही गर्न सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।
सरकारी अभियोजन कार्यालयले मृतकको संख्या बढ्न सक्ने चेतावनी दिएको छ । घाइतेको उपचारका लागि प्रभावित क्षेत्रका अस्पताललाई उच्च सतर्कतामा राखिएको सरकारले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology