काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिनुका साथै प्रकृतिप्रतिको सम्मान र जीवनप्रतिको कृतज्ञता अभिव्यक्त गर्ने बताएका छन् ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको यस पर्वले आपसी सद्भाव र सामाजिक एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
उनले छठ पर्वको आध्यात्मिक आधार प्राचीन वैदिक परम्परासँग जोडिएको उल्लेख गर्दै ऋग्वेदमा उषा देवीको सुन्दर स्तुति गरिएको बताएका छन्। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको प्राचीन आध्यात्मिक भाव छठ पर्वमा समेत प्रतिबिम्बित हुने उनको भनाइ छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यस पर्वले प्रकृतिको महत्त्व र जीवनप्रतिको कृतज्ञता स्मरण गराउने उनले बताएका छन् ।
यस पावन पर्वले सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस् भन्दै थापाले छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस् भन्ने कामना गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology