काठमाडौं । बलिवुड अभिनेता रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ विश्वव्यापी कमाइका आधारमा सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म बनेको छ ।
प्रदर्शनको २१ दिनमा फिल्मले विश्वभर १ हजार ७५५ करोड ६० लाख भारु कमाउँदै अल्लु अर्जुनको ‘पुष्पा २’लाई पछि पारेको हो ।
सैकनिल्कका अनुसार फिल्मले २१औँ दिन बुधबार भारतमा ९ करोड ६० लाख भारु कमाएको छ । यससँगै भारतमा फिल्मको कुल खुद कमाइ ९८२ करोड ५५ लाख भारु पुगेको छ । भारत र विदेशसहितको कुल कमाइ भने १ हजार ७५५ करोड ६० लाख भारु पुगेको छ ।
विदेशी बजारबाट मात्रै फिल्मले ५८२ करोड भारु कमाएको छ । यसअघि ‘पुष्पा २’ले विश्वभर १ हजार ७४२ करोड १० लाख भारु कमाएको थियो । ‘रामायण’ले उक्त कमाइलाई उछिन्दै चौथो स्थानमा पुगेको हो ।
अब फिल्मलाई ‘बाहुबली २’को विश्वव्यापी कमाइको कीर्तिमान तोड्न थप ३२ करोड ४६ लाख भारु आवश्यक छ । ‘बाहुबली २’ले १ हजार ७८८ करोड ६ लाख भारु कमाएको थियो । सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको कीर्तिमान भने आमिर खान अभिनीत ‘दंगल’को नाममा छ, जसले विश्वभर २ हजार करोड भारुभन्दा बढी कमाएको थियो ।
फिल्मले लगातार २० दिनसम्म भारतमा दैनिक १० करोड भारुभन्दा बढी खुद कमाइ गरेको थियो । तर २१औँ दिन पहिलोपटक कमाइ १० करोडभन्दा तल झर्दै ९ करोड ६० लाख भारुमा सीमित भएको छ ।
नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर कपुरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology