Logo

२०८३, मंसिर ११गते


images
images

समाचार

महानगरको वायोग्यास प्लान्ट परीक्षण सञ्चालनमा, दैनिक कति ग्यास उत्पादन हुन्छ ?

महानगरको वायोग्यास प्लान्ट परीक्षण सञ्चालनमा, दैनिक कति ग्यास उत्पादन हुन्छ ?

images
  • महानगरको वायोग्यास प्लान्ट परीक्षण सञ्चालनमा, दैनिक कति ग्यास उत्पादन हुन्छ ?
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशन परिसरमा रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको प्लान्ट बिहीबारदेखि परीक्षणका लागि सञ्चालनमा आएको हो ।

    images
    images

    काठमाडौं जलवायु कार्य सप्ताहको अवसर पारेर ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रूपमा प्लान्टको शुभारम्भ गरेका हुन् । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले प्रणाली महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याललाई हस्तान्तरण गरेका थिए ।

    images

    प्लान्ट पुनः सञ्चालनमा ल्याउन महानगरपालिकाले गत साउन १८ गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सम्झौता गरेको थियो। केन्द्रले विश्व बैंकको सहयोगमा करिब १ करोड ८० लाख रुपैयाँ खर्च गरेर प्रणालीलाई थप परिष्कृत गरेपछि परीक्षण सञ्चालनमा ल्याइएको हो ।

    प्लान्टमा दैनिक ३ मेट्रिक टन अर्थात् ३ हजार किलोग्राम जैविक फोहोर प्रशोधन गर्न सकिन्छ। यसबाट दैनिक करिब ३०० घनमिटर वायोग्यास उत्पादन हुने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका ऊर्जा विज्ञ सुशिमान मान अमात्यले बताएका छन्। उनका अनुसार यो परिमाण करिब १० सिलिन्डर एलपीजी ग्यास बराबर हो ।

    प्लान्टको विद्युत् उत्पादन क्षमता १४ किलोवाटसम्म रहेको छ। उत्पादित ग्यासबाट बिजुली निकाल्न, ग्यास टेम्पो सञ्चालन गर्न वा पाइपमार्फत घरघरमा पुर्‍याएर खाना पकाउन प्रयोग गर्न सकिन्छ । अमात्यका अनुसार प्लान्टमा जैविक फोहोरलाई टुक्रा बनाएर प्राथमिक डाइजेस्टरमा पठाइन्छ। त्यसपछि दोस्रो डाइजेस्टरमा पुर्‍याइने फोहोरबाट ग्यास उत्पादन हुन्छ। डाइजेस्टरमा राखिएको जैविक फोहोरलाई ग्यास बन्न करिब ४० दिन लाग्छ ।

    उत्पादित ग्यासमा मिथेन, कार्बनडाइअक्साइड र हाइड्रोजन सल्फाइड मिसिएको हुन्छ । प्रशोधनका क्रममा फिल्टर प्रणालीबाट हाइड्रोजन सल्फाइड छुट्याइन्छ। त्यसपछि चिलर युनिटमार्फत ग्यासमा रहेको पानी निकालेर शुद्धीकरण गरिन्छ। शुद्धीकरणपछि प्राप्त ग्यासलाई चाप दिएर ट्याङ्कीमा भण्डारण गरिन्छ ।

    अमात्यका अनुसार हालको प्रणालीबाट उत्पादित ग्यास १ हजार ५०० मिटरसम्म वितरण गर्न सकिन्छ। प्लान्टबाट निस्कने बाँकी ठोस पदार्थ गन्धरहित जैविक मलका रूपमा प्रयोग गर्न सकिन्छ भने प्रशोधित पानीलाई प्राङ्गारिक झोल मलका रूपमा बगैँचामा उपयोग गर्न सकिन्छ ।

    एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाअन्तर्गत काठमाडौं महानगरपालिकाले युरोपेली संघसँगको सहकार्यमा २०७० सालदेखि प्लान्टको परीक्षण सुरु गरेको थियो । २०७४ सालदेखि सञ्चालनमा आएको यस प्लान्टको निर्माणमा युरोपेली संघबाट ४ करोड ६० लाख रुपैयाँ र काठमाडौं महानगरपालिकाबाट १ करोड ८२ लाख रुपैयाँ लगानी भएको थियो। यसरी निर्माणका क्रममा कुल ६ करोड ४२ लाख रुपैयाँ खर्च भएको थियो ।

    प्राविधिक समस्याका कारण सञ्चालन हुन नसकेको प्रणालीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विकास साझेदारको सहयोगमा पुनः सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ ।

    महानगरको यो प्लान्ट सञ्चालनमा आएपछि जैविक फोहोर व्यवस्थापन, ऊर्जा उत्पादन र प्राङ्गारिक मल निर्माणलाई एउटै प्रणालीमा जोड्ने सम्भावना खुलेको छ । परीक्षण सञ्चालनबाट प्राप्त नतिजाले यसको नियमित र दिगो सञ्चालनको बाटो तय गर्ने अपेक्षा गरेको महानगरले जनाएको छ ।

     

     

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महानगर
  • # वायोग्यास
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।