काठमाडौं । प्रहरी निरीक्षक भएको भन्दै एक व्यक्तिलाई छुटाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको थियो । उनलाई भेट्न पुगेका भाइसँग केही व्यक्तिले आफूहरू प्रहरी निरीक्षक भएको बताउँदै उनका दाजुलाई मुद्दा नचलाई छुटाइदिने भन्दै दुई लाख रुपैयाँ माग गरेका थिए ।
आरोपितहरूले रकमका साथै होटलको खर्चसमेत तिर्न लगाएको र रकम दिन अस्वीकार गरेपछि फोन तथा सन्देशमार्फत विभिन्न किसिमका धम्की दिई मानसिक तथा आर्थिक तनाव दिएको सूचना प्रहरीमा पुगेको थियो ।
सूचनापछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका–२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल र पाल्पाको तानसेन नगरपालिका–६ घर भई हात्तीगौंडा बस्ने ३३ वर्षीय धिरज रानाभाट रहेका छन् ।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका–२ घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन पनि पक्राउ परेका छन् ।
उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology