दाङ । हिन्दुसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृतिअनुसार दशगात्र ( काजकिरिया) कर्म गर्ने चलन छ ।
समयअनुसार समाजको सोच र परम्परा पनि बदलिदै छ । छोरा नहुने आमाबुबाको मृत्युपछि स्वर्ग पुगिदैन भन्ने सोचलाई अहिले छोरीले तोड्न थालेका छन् पुरानो मान्यता तोड्दै दाङको तुलसीपुरमा बाबुको निधनपछि १६ वर्षीया छोरी किरिया बसेकी छन् । तुलसीपुर उपमहानगरपालिका-५ संगीतनगर निवासी ३८ वर्षका बाबु टेकबहादुर परियारको भारतको गुजरातमा कोरोनाका कारण गएको वैशाख १३ गते मृत्यु भएपछि छोरी विनिता परियार अहिले किरिया बसेकी छन् ।
'छोराछोरीसँग कहिल्यै पनि सँगै बस्नुभएन राम्रो गरी पढ्नु भन्दै एक महिनाअघि रोजगारीका लागि भारत जानुभएका ड्याडीले मृत्यु भएको अघिल्लो दिन भिडियो कलमा आमाको ख्याल गर्नु है छोरी भन्नु भएको थियो,' विनिताले भनिन्, 'त्यो नै उहाँको अन्तिम बोली रहेछ।' छोरी भए पनि ड्याडीले सधै तिमीहरू छोरा हौ भन्ने गरेकाले आफू किरिया बसेको विनिताको भनाइ छ । 'ठूली ममीले छोरी मान्छे किरिया बस्नुहुँदैन भन्नु हुन्थ्यो तर मेरो मनले मानेन्,' विनिताले भनिन् 'म पनि छोराभन्दा के कम छु र भन्दै बसेकी हुँ ।'
विनिताका बुबा आमा भारत गएपछि तीन बहिनी बर्दियामा मामाको घरमा बस्दै आएका थिए। तीन बहिनीमध्ये बिनिता जेठी छोरी हुन् । बर्दियाबाट आएर विनिता वैशाख २४ गतेबाट बाबुको किरिया बसेकी छन् । यसरी विनिता परिवर्तनको संवाहक भएकी छन् अहिले ।
विनिताको कार्यले छोराले मात्रै काजकिरिया गर्नुपर्छ, नत्र स्वर्ग पुग्न सकिदैन भन्ने अन्धविश्वासलाई चुनौती दिएको छ । अनिवार्य छोरा जन्माउनै पर्ने, उसैले मात्र आमाब बाको काजकिरिया गर्नपर्ने बाध्यात्मक अवस्था रहे पनि अहिले त्यो हटेर गएको तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बताए । आजको राजधानी दैनिकमा समाचार प्रकाशीत छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology