काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)लाई कारण देखाउ आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मेयर साह विरुद्ध परेको अदालतको अपहेलना मुद्दामा सोमबार कारण देखाउ आदेश दिएको हो।
नर्भिक इन्टरनेशनल अस्पतालले कानून विपरीत संरचना निर्माण गरेको भन्दै मेयर साहले भत्काउन पत्राचार गरेका थिए। त्यसका विरुद्ध नर्भिक अस्पताल सर्वोच्च पुगेको थियो।
नर्भिकको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना हटाउने निर्णय कार्यान्वयन गर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो। त्यससँगै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।
तर, मेयर साहले समाजिक सञ्जालमा त्यसको विरोध गर्दै लेखेका थिए। उनले भनेका थिए, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरू संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।”
मेयर बालेनको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमाथि आज सुनुवाइ गर्दै न्यायाधीश कार्कीले किन सजाय नहुने भन्दै लिखित जवाफ पेश गर्न आदेश दिएका हुन्।
सर्वोच्चको आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनु पर्ने हो?”
यससँगै सर्वोच्चले सात दिनभित्र लिखित जवाफ दिन पनि भनेको छ। “सोको आधार, कारण सहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि निमायनुसार पेश गर्नू,” आदेशमा उल्लेख छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology