देवदह । देवदहको स्वास्थ्य क्षेत्रमा गौरवको योजनाको रुपमा रहेको देवदह नगर अस्पताल उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बिच नगरप्रमुख धुर्ब प्रसाद खरेलले अस्पतालको उद्घाटन गरेका हुन् ।
अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खरेलले स्वास्थ्य मानव जीवनको पहिलो र अपरिहार्य पक्ष भएकाले त्यसको व्यवस्थापन, विकास र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आफुहरु निर्वाचिन भएलगत्तै विशेष रुपमा योजनाहरु अगाडि बढाएको बताए । नगर अस्पताललाई रिफर सेन्टरको रुपमा विकास गरिने बताउँदै उनले स्वास्थ्य विमाको लागि बुटवल धाउनुपर्ने झन्जटले हट्ने जानकारी दिए ।
कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले स्वास्थ्यलाई संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै नागरिकलाई उक्त हकको प्रत्याभूति दिन नगर अस्पतालले उल्लेख्य भूमिका खेल्ने बताए ।
त्यसैगरी स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख गौरव ढकालले देवदह नगरपालिका स्वास्थ्य सेवाको प्रवाहमा जिल्लाभरमा तेस्रो स्थानमा रहेको बताउँदै नगर अस्पताल सञ्चालन सँगै देवदहको स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय डेँगीको संक्रमण बढिरहेकाले हरेक परिवार तथा समुदायलाई यसबारे जानकारी गराउनुपर्ने आवस्यकता औँल्याए ।
स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले स्वास्थ्य बिमा कार्यक्रमले जनताको स्वास्थ्य सेवामा ठूलो काम गरेको उल्लेख गर्दै देवदह नगर अस्पताललाई स्वास्थ्य बिमा रिफर सेन्टरको रुपमा अगाडि बढाउने र त्यसका लागि आफ्नो पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
देवदह स्वास्थ्य चौकीका पुर्व प्रमुख जयकिसन अधिकारीले आँफुले २२ वर्ष देवदह स्वास्थ्य चौकीमा व्यतीत गरेको स्मरण गर्दै नगर अस्पतालको उद्घाटनले स्वास्थ्य क्षेत्रको विकासको ढोका खोलेको बताएका थिए ।
नेकपा एमाले देवदह नगर अध्यक्ष हिरा थापाले नेताहरु मञ्चमा मीठो कुरा गर्ने तर व्यवहारमा त्यस्तो नहुने उल्लेख गर्दै अस्पतालको विकासका लागि कुनै राजनीतिक पुर्वाग्रह नराखी काम गर्नुपर्ने बताए भने नेपाली कांग्रेसका देवदह नगर सभापति गुणाखर भुर्तेलले सकेसम्म देवदह क्षेत्रकै स्वास्थ्यकर्मी मार्फत सञ्चालन गर्न सके बढी अपनत्व हुने भनाइ राखे । साथै, नेकपा माओवादी केन्द्रका देवदह अध्यक्ष गोविन्द बहादुर ठडराईले नगरभित्र ठूलो पहुँच नभएका धेरै आम जनता रहेको उल्लेख गर्दै अस्पतालमा सामान्य भन्दा सामान्य जनता आउँदा पनि महत्वपूर्ण ढंगले सेवा दिनुपर्ने जोड दिए ।
कार्यक्रममा वडा नम्बर ५ का पुर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, नेकपा एमालेका नेता ऋषिराम सापकोटा, श्रीकृष्ण पोलिक्लिनिकका सञ्चालक कृष्ण गैरे, नेकपा एकीकृत समाजवादीका देवदह अध्यक्ष डिल्लीराम सापकोटा, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, देवदह मेडिकल कलेजका गोपाल प्रसाद पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्दै नगर अस्पातालले देवदहको स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
उक्त अवसरमा देवदह स्वास्थ्य चौकीका पुर्व अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, पुर्व सदस्य दुर्गादत्त शर्मा र विष्णु पाण्डेलाई सम्मान गरिएको थियो ।
अस्पताल उद्घाटनको अवसरमा बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । देवदह प्रेस क्लबको आयोजना र देवदहका विभिन्न क्लव, वन, सामाजिक संघ संस्थाको सहयोगमा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रम मार्फत ६३ प्वाइन्ट रगत संकलन भएको देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए ।
अघिल्लो स्थानीय सरकारले नगर अस्पताल निर्माण अगाडि बढाएको भएपनि अस्पताल भवन निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने भएपछी हाललाई देवदह स्वास्थ्य केन्द्रमा १० सैयाको नगर अस्पताल सञ्चालन गरिएको हो । भवन निर्माण सम्पन्न भएपछी अस्पताल स्थानान्तरण गरिने नगरले जनाएको छ ।
कार्यक्रम नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, नगर उप प्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत तथा प्रमुख स्वास्थ्य प्रमुख काशीनाथ वञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology