Logo

२०८३, श्रावण ३०गते


images
images

बडादशैंको सातौँ दिन आइतबार घर–घरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

बडादशैंको सातौँ दिन आइतबार घर–घरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

images
  • बडादशैंको सातौँ दिन आइतबार घर–घरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
    images
    images

    काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज आइतबार घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।     

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।    



    नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

    ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्’, उनले भने।

    फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।   हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।     

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ। हनुमानढोकामा यस वर्षको फूलपाती आइतबार अपराह्न भित्र्याइने कार्यक्रम रहेको छ। 

    फूलपाती लिन शनिबार नै काठमाडौंबाट एक समूह धादिङको जीवनपुर गएको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। गोरखाबाट फूलपाती लिएर आइतबार नै धादिङको जीवनपुरतर्फ अर्को समूह आएको पनि उनले बताए।



    आइतबार बिहान जीवनपुरबाट स्वयम्भू हुँदै काठमाडौंबाट गएको समूहले फूलपाती ल्याउने छ। त्यस क्रममा स्यवम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिका समावेश गरिने जनाइएको छ। स्वयम्भूबाट जमलको दशैंघरमा फूलपाती आइपुग्ने छ। जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी भित्र्याइने कार्यक्रम रहेको हेरचाह अड्डाले जनाएको छ।     

    आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने फूलपातीका दिनदेखि बढ्ने गर्दछ। आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्ति सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ।     

    फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैंको रौनकतालाई अझ बढाउने गर्दछ। यस अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्परा पनि छ। पछिल्लो समय पिङ र चङ्गाको परम्परामा कमी आएकाले पनि दशैंको मौलिकता गुम्न थालेको बूढापाका बताउँछन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फूलपाती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।