राजेश पराजुली, पोखरा । कास्कीको ३ वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी परेको छ । प्रतिनिधि सभा तर्फ कास्कीको १, २ र ३ वटै क्षेत्रमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको हो ।
क्षेत्र नं. ३ मा भने एमालेका उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी परेको छ ।
कास्कीको क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका घननाथ सापकोटाले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति किशोरदत्त बरालविरुद्ध बागी उम्मेदवारी दिएका छन ।युवा नेतृत्वबाट मात्र यो देशको बिकास सम्भव हुने तथा देश र जनताका वास्तविक समस्याहरुको समाधान गर्न सक्ने आँट युवामा मात्र हुने भएकाले आफुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको सापकोटाको भनाइ छ ।
सापकोटा एकीकृत समाजवादीका मादी गाउँपालिकाका अध्यक्ष हुन।
कास्कीको क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालका विरुद्ध बागी उम्मेदवारी दिएका छन।
पूर्व राज्यमन्त्री समेत भएका गुरुङले आफु क्षेत्र नं. ३ को बासिन्दा भए पनि गठबन्धन विरुद्धको विद्रोह भन्दै क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएको हो ।
कास्की–३ बाट समानुपातिक सिफारिसमा परेका गुरुङको बन्द सूचीमा भने नाम परेको छैन ।
कास्कीको क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि माओवादी आन्दोलनका सहिद परिवारकी सदस्य अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी छन ।
गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार रामजी बराल (जिबन) का विरुद्ध उनको बागी उम्मेदवारी परेको हो ।माओवादी आन्दोलनका क्रममा सेनाको गोली लागेर बाबुआमा दुवै गुमाएकी भुर्तेलले सहिद परिवारको अपमान गरिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएकी उनले शनिबार नै सामाजिक संजालमार्फत आइतबार सहिद परिवारको तर्फबाट आफ्नो उम्मेदवारी रहने जानकारी गराएकी छन।
यसैगरी क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीविरुद्ध पनि बागी उम्मेदवारी परेको छ ।
एमालेका प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले बैरागीविरुद्ध बागी उम्मेदवारी दिएका छन।आफुले प्राप्त गर्ने टिकट खोसेर जिल्ला अध्यक्षमा मनबहादुर गुरुङसँग पराजित भएका बैरागीलाई दिएको भन्दै बास्तोलाले असन्तुष्टि जनाउदै स्वतन्त्र उम्मेदवारी दिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology