भनिन्छ, राजनीति भनेकै मिलाउनु हो । मिलेर बस्नु हो । एकले अर्काका रितिसंस्कृतिको सम्मान गर्नु हो र नेतृत्व गर्नु हो । तर बर्तमानमा राजनितिको यो सच्चाई फेरिएर राजनीति भनेकै आफू इतरको ईर्ष्या र आलोचना गर्ने पेशा होकि भन्ने भान आम नागरिकलाई परिरहेको छ । सोही सन्दर्भमा रुपन्देही क्षेत्र नं. १ का सत्तारूढ गठबन्धनका उम्मेदवारहरूले भने फरक अभ्यास गरिरहेका छन् । जहाँ कम्युनिस्ट पार्टीका सदस्यले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई जय नेपाल भनिरहेका छन् भने नेपाली कांग्रेसका नेताहरूले गठबन्धनका वाम नेताकार्यकर्ता देख्नासाथ खुलेर कमरेड लाल सलाम भनिरहेका छन् । एक अर्काको अभिवादन गर्ने तौरतरिकालाई अंगालिरहेका छन्, सम्मान गरिरहेका छन् ।
त्यसो त गठबन्धनका शिर्षनेताहरूले एक अर्कालाई सोही अनुसार अभिवादन गर्न नेता-कार्यकर्ताहरूलाई सुझाएका छन् । जुन शुक्रवार बुटवलमा आयोजित ५ दलिय गठबन्धनको प्रशिक्षण कार्यक्रममा पनि देखियो । कांग्रेस सभापति शेर बहादुर देउवाले लालसलाम भनेर हलमा उपस्थित वामपन्थी नेता कार्यकर्ताहरूलाई अभिवादन गरे भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतले विनाहिचकिचाहट जय नेपाल भनेर अभिवादन गरे ।
सत्तारूढ गठबन्धनबाट रुपन्देही क्षेत्र नं. १ मा चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, बाम बुद्धिजिवि हुन् । उनले साढे ४ दशक काम गरेको एमाले केही समय अघिमात्रै परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । यस अर्थमा उनी कम्युनिस्ट हुन् । यता राजनीतिको पाईला नै नेपाली कांग्रेसबाट चालेका पार्टीका केन्द्रिय सदस्य अब्दुल रज्जाक र अर्का नेता विश्वनाथ यादव कांग्रेसको राजनीति मै जन्मिएर हुर्किएका नेताहरू हुन् । यी तिनै जना उम्मेदवारहरूले चुनावी मैदानमा उच्चकोटीको राजनीतिक संस्कार प्रदर्शन गरेको गठबन्धनका नेताकार्यकर्ताहरू बताउँछन् ।
त्यसो त घनश्याम भुसाल, अब्दुल रज्जाक र विश्वनाथ यादवका चुनावी कमाण्डर रहेका निर्वाचन मुल परिचालन कमिटीका प्रमुख हिरा बहादुर खत्री पनि यस मामिलामा कम छैनन् । केहीदिन अघि देवदहमा सम्पन्न एक कार्यक्रममा खत्रीले भुसाल, रज्जाक र यादव आफुहरूका 'त्रिदेव' जस्तै भएको तर्क गरे । उनले भने, ' घनश्याम भुसाल, अब्दुल रज्जाक र विश्वनाथ यादव हाम्रा त्रिदेव हुनुहुन्छ । यस क्षेत्रको विकास र समृद्धिका लागि उहाँहरूको विकल्प अरु हुन सक्दैन ।" गठबन्धन व्यवस्थित ढंगले कसिलो बन्दै गएको र आफुहरूको जीत सुनिश्चित भैसकेको बताउँने केसी बौद्धिक र विकासप्रेमी उम्मेदवारको चुनाव परिचालन प्रमुख बन्न पाउँदा गौरव लागेको बताउँछन् ।
रुपन्देही क्षेत्र नं. १ को प्रतिनिधिसभा र प्रदेश सभाको लागि ४ दर्जन उम्मेदवार मैदानमा रहेका छन् । जसमा प्रतिनिधि सभामा गठबन्धनको समर्थनमा त्रिभुज चिन्ह लिएर उठेका घनश्याम भुसाल, नेकपा एमालेका छविलाल विश्वकर्मा र स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईंलाई प्रमुख प्रतिस्पर्धीको रूपमा लिईएको छ भने प्रदेशसभामा पनि सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धनको विचमै प्रतिस्पर्धा हुने देखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology