एजेन्सी । सामाजिक सञ्जाल ट्विटरको स्वामित्व आफूले लिएपछि अमेरिकी अर्बपति एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका छन्।
द न्युयोर्क टाइम्सका अनुसार ४४ अर्ब डलर ट्विटर किनेका मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल, लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन्।
उनीहरूलाई बर्खास्त गरिएकोबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन्। मस्कले शुक्रबारसम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए। केही महिनाअघि ट्विटर किन्ने सम्झौता गरेका उनी पछि उक्त सम्झौताबाट हट्न खोजेका थिए। उनको कदमविरूद्ध ट्विटरले अदालतमा मुद्दा हालेपछि अदालतले मस्कलाई अक्टोबर २८ सम्म सीमा दिएको थियो।
समय सकिनु दुई दिनअघि बुधबार मस्क ट्विटरको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेका थिए। उनले अहिले ट्विटरमा आफ्नो बायो परिवर्तन गरी ट्विटरको प्रमुख राखेका छन्।
मस्कले बर्खास्त गरेका अग्रवाल गत वर्ष ट्विटरको सिइओ नियुक्त भएका थिए। केही महिनाअघि मस्क र अग्रवालले सार्वजनिक रूपमै एक-अर्काको आलोचना गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology