रुपन्देही । रुपन्देहीको सैनामैना रामापुर कोलनीबाट करिव ७ किमि उत्तरतर्फ लागेपछि पुगिन्छ, शान्तिपुर सुखौरा गाउँ । पहाडको फेदीमा रहेको यो गाउँ जति सुन्दर छ, त्यो भन्दा बढि यहाँ अभाव र समस्याहरु छन् ।
शुक्रबार त्यहि अभाव र समस्यामा रहेको शान्तिपुर सुखौरा गाउँमा रुपन्देही क्षेत्र न. ५ का उम्मेद्वार भरतकुमार शाह सहित लुम्बिनी प्रदेश क तर्फका उम्मेद्वार विनोद पहाडी पुगे ।
यसअघि प्रदेशमा विजयी भएका उम्मेद्वारले गाउँको समस्या नसुनेकोमा स्थानीयहरुको आक्रोश थियो । ‘पहिला हाम्रो गाउँको विकास गर्छु भनेर मत दिएकाहरुले गाउँको विकास गरेनन’ स्थानीय कमल सोमैले भने –‘यसपाली विनोद पहाडी उम्मेद्वार बन्नुभएकोमा खुशी छौं, अब बल्ल हाम्रो नेता पाएको महसुस गरेका छौं ।’ उनले शान्तिपुर सुखौरा गाउँमा पुल नहुँदा गाउँलेहरुले सास्ती भोगेको गुनासो गरे ।
सुखौरा गाउँ पुग्नुअघि भरतपुर कुटी गाउँ आइपुग्छ । भरतपुर कुटी र शान्तिपुर सुखौरा गाउँलाई इंगुरिया खोलाले छुटाएको छ । यो गाउँ पूर्व उत्तर, दक्षिणमा इगुरिया र पश्चिमा सुखौरा खोलाले घेरेको छ । बस्ती खोलाको कटानका कारण जोखिममा छ ।
सुखौरा गाउँका स्थानीयहरुले यहाँ मोटरेबल पुल नहुँदा बजार गर्न र रामापुरसम्म आउजाउ गर्न निकै सास्ती भोग्ने गरेका छन् । गठबन्धनका तर्फबाट उम्मेद्वार भएका शाह र पहाडी दुवै उक्त गाउँमा पुग्दा स्थानीयहरुले आश जागेको बताए । प्रतिनिसधाका उम्मेद्वार शाहले इंगोरिया खोलामा पक्की पुल बनाउने प्रतिबद्धता गरे । उनले संघीय सरकारबाट इगुरिया नदीमा पुल बनाउन ९ करोड रुपैयाँ छुटाइसकेको र अब छिट्टै ठेक्का भएर पुल निर्माण हुने बताए ।
रूपन्देही निर्वाचन क्षेत्र न. ५ को प्रदेशसभा क तर्फका उम्मेद्वार पहाडीले भने आफू शान्तिपुर सुखौरा गाउँको समस्याबारे जानकार रहेको बताउँदै खोलामा पक्की मोटरेवल पुल, खानेपानी समस्या समाधान, सिचाई, विजुलीको पोल तथा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता जनाए ।
‘यो गाउँ मेरो पनि बाल्यकाल विताएको गाउँ हो, यहाँको समस्या समाधानमा तुरुन्त लाग्नेछु’ उनले भने । उनले विगतमा सुखौरागाउँको भन्दा अन्यत्र ध्यान दिने नेतृत्व भएकाले बस्ती ओझेलमा परेकाले अब गठबन्धनका उम्मेद्वारले समानुपातिक विकासलाई महत्वका साथ अगाडि बढाउने बताए ।
उनले रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ र प्रदेश क को विकासका लागि आफुहरु प्रतिबद्ध भएर लाग्ने बताए । ‘हामी जनताको विचबाट अगाडि बढेका छौं, संविधानको रक्षासँगै अब जनताको जीवनस्तर उकास्नेछौं’ उनले भने । मतदाताहरुले यो पटक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विनोद पहाडी नयाँ अनुहारका रुपमा उम्मेद्वारी दिएकाले समेत एक पटक काम गर्न दिनुपर्ने बताउने गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology