रोहिणी । सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल यति बेला मतदाता भेटघाटमा व्यस्त छन्। पार्टी नेतृत्वको गलत कदमलाई सिधा खबरदारी गरेर राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाएका भुसाल गठबन्धनका प्रदेश सभा सदस्य पदका उम्मेदवारहरूसंगै मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन्।
शनिबार रोहिणी र ओमसतियाका अधिकांश भित्री गाउँमा उनी पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच अझै राम्रोसंग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरे । पुर्व सांसदप्रति संकेत गर्दै मतदाताहरूले घनश्याम र उनीसंगै रहेका विश्वनाथ यादवसंग चुनावका बेला जनाएका प्रतिबद्धता यस अघिका सांसदले पूरा नगरेको आरोप लगाए । मतदाताहरू भन्दै थिए, 'तपाईं इमानदार हुनुहुन्छ भन्ने हामीले बुझेका छौँ तर जितेर गएपछि पहिलेकाले जस्तो नगर्नुहोला ।' मतदाताको गुनासो र सुझाव सुनेपछि उम्मेदवारहरूले समग्र क्षेत्रको समग्र विकासका लागि आफुहरूले इमानदार प्रयत्न गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलोकै क्रममा संचारकर्मीसंग कुरा गर्दै घनश्याम भुसालले धेरै काम गर्न बाँकी रहेको बताए । उनले भने, "हेर्नुस् शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ । सडकका खाल्डाखुल्डीको अवस्था उस्तैछ । अब यही अवस्थाबाट विकासको उडान भर्न जरुरी छ । म निकै गम्भीर छु ।"
मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, नि:शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको बताए। दैनिक गुजाराका लागि रोजगारीको सिर्जना नहुँदा भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको र स्वदेशमै रोजगारीको सृजनाको लागि आफु प्रतिबद्ध भएर लाग्ने भुसाल प्रतिबद्धता जनाए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology