रुपन्देही । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले युवा-विद्यार्थीलाई चुनावमा दुरुपयोग गर्नु गलत भएको बताएका छन् । आइतबार देवदह-२ स्थित होटल एकतामा अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र अनेरास्ववियूको संयुक्त भेलामा बोल्दै नेता भुसालले युवा विद्यार्थीहरूले सहि राजनीतिको अभ्यास गर्नुपर्ने बताए ।
चुनावमा होहल्ला गर्न युवा विद्यार्थी प्रयोग गर्ने तर राजनीतिक ज्ञान र सहि अभ्यासबाट युवाहरूलाई विमुख गर्दै जाने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै नेता भुसालले भने, "युवा विद्यार्थीलाई २-४ लिटर पेट्रोल दिएर चुनावमा प्रयोग गर्ने प्रवृत्ति झांङ्गिनु चिन्ताको विषय हो ।" युवा विद्यार्थी सबैभन्दा सचेतबर्ग मात्रै नभएर पछिल्लो पुस्ता समेत भएकोले पुराना राजनीतिज्ञहरूले पछिल्लो प्रविधिको ज्ञान सोंच्ने तरिका युवा विद्यार्थीबाट सिक्नुपर्नेमा उनले जोड दिए ।
'निर्वाचनले युवा विद्यार्थीहरूलाई प्रशिक्षित गर्नुपर्छ' उनले भने, 'आफ्नै दलका उम्मेदवारहरूले गरेका गलत कुराको विरोध गरेर उम्मेदवारहरूलाई सच्याउन सक्ने बैचारिक ज्ञान युवा-विद्यार्थीमा भयो भने राजनीति विग्रीनबाट जोगिन्छ ।'
विद्यार्थीहरू राजनीतिको पछि लाग्ने नभइ, उनीहरूले राजनीतिको नेतृत्व गर्नुपर्ने र नेताहरूलाई गलतबाटोमा जानबाट रोक्नुपर्ने उनको भनाइ छ ।
यो अवसरमा विद्यार्थीहरूले घनश्याम भुसालमा इमानदारीता र बैचारिक स्पष्टता रहेको भन्दै प्रशंसा गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology