देवदह । देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र संचालनमा ल्याउने भएको छ। मंगलबार रोणिही गाउँपालिकामा बसेको संयुक्त बैठकले तिनै पालिकाको लागत सहभागितामा वारुणयन्त्र खरीद गरी संचालनमा ल्याउने निर्णय गरेको देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
वारुणयन्त्र खरीदको लागि देवदह नगरपालिकाले ५० प्रतिशत तथा रोहिणी र ओमसतिया गाउँपालिकाले २५/२५ प्रतिशत लगानी गर्ने सहमति भएको छ। सहमति अनुसार तिनै पालिकाको संयुक्त लगानीमा खरीद गरिएको वारुणयन्त्र देवदह नगरपालिका–१, मा व्यवस्थापन गरी संचालन गरिनेछ ।
सहमति अनुसार तिनवटै पालिकामा हुने विपद् व्यवस्थापन गर्ने गरी वारुणयन्त्र संचालन कार्यविधि निर्माण गरिनेछ । जसको लागि देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, ओमसतिया गाउपालिकाका सदस्य सागर गौतम, देवदह नगरपालिकाका ईन्जिनियर राजकुमार यादव र रोहिणी गाउँपालिकाका लेखा अधिकृत कृष्णप्रसाद ज्ञवाली रहेका छन् ।
बैठकले वारुणयन्त्र खरीद प्रक्रियाको लागि देवदह नगरपालिकालाई जिम्मेवारी प्रदान गरेको छ । रोहिणी गाउँपालिकाका प्रमुख विद्या यादवको अध्यक्षता, देवदह नगरपालिकाका प्रमुख ध्रुब प्रसाद खरेलको प्रमुख आथित्यता भएको संयुक्त बैठकमा ओमसतिया गाउँपालिकाका प्रमुख मनजित यादव, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, रोहिणी गाउपालिकाका उपप्रमुख शिवक्रान्ति चमार, ओमसतिया गाउपालिकाका उपप्रमुख सुनिता चौधरी, तिनै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology