बुटवल । विश्वलाई शान्तिको मार्ग देखाउने महामानव गौतम बुद्ध जन्मिएको लुम्बिनी मुलत: शान्तिको भुमि भनेर चिनिन्छ । त्यसो त वि स २०५२ देखि २०६२ सम्म जारी ऎतिहसिक जनयुद्धको केन्द्र समेत रुकुम र रोल्पा रह्यो जुन संघिय संरचना अनुसार अहिले लुम्बिन्नी प्रदेशमै पर्दछ। जसका कारण लुम्बिनीलाई वामपन्थीहरूले शान्ति र क्रान्तिको भुमि भनेर समेत बेलाबखत चर्चा गर्ने गर्दछन।
त्यहि लुम्बिनीले पुन: एकपटक देशको केन्द्रिय राजनीतिकै दिशा परिवर्तन हुनेगरि भएको रोमान्चक राजनीतिक खेलमा आफुलाई अब्बल साबित गरेको छ। नेकपा एमाले र माओवादी केन्द्रलाई विगतमा एकैस्थानमा ल्याएर पार्टी एकता नै गराउन सफल लुम्बिनीबाट केन्द्रिय राजनीतिमा रहेका नेताहरूले पुन: एकपटक वामआन्दोलनलाई संगै हिडाउन गरेको पहल सफल भएको हो । यसको लागि नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा, उपमहासचिव बर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरसंगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतको महत्वपुर्ण भूमिको पुष्टि भएको छ ।
एमाले र माओवादीको सहकार्यका लागि पर्दापछाडी भएका खेलमा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री पोख्रेल र हालका मुख्यमन्त्री केसीको भूमिकाले काम गरेको मुख्यमन्त्री केसीको सचिवालयको दावी छ। त्यसो त मुख्यमन्त्री केसीले प्रचण्डलाई जसले प्रधानमन्त्री बनाउछ उसैसंग गठबन्धन हुने यसअघि नै सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्ति त्यो बेला अस्वाभाविक जस्तो देखिएपनि हाल आएर उनले गरेको आंकलन मिलेको छ र नेपाली कांग्रेसले प्रधानमन्त्री दिन नमानेपछि एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका छन।
निर्वाचनको रस्साकसी सकिएपछि एमाले र माओवादीका नेताहरू शितल भए। निर्वाचन अघि एकल बहुमत त्यो पनि १५० सिट प्रत्यक्षमा जित्ने उद्घोष गरेको एमालेले आफुलाई संसदको पहिलो दल बनाउन समेत सकेन। पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव सहितका उच्चस्तरिय नेताहरू निर्वाचनमा पराजित भए। पार्टी दोस्रो ठुलो दलमा खुम्चियो। यता माओवादीको हालत पनि उस्तै रह्यो। पार्टी महासचिव सहित महत्वपुर्ण नेताहरूले निर्वाचन हारे। कांग्रेस कार्यकर्ता इमान्दार नभएकोले आफूहरूले निर्वाचन हारेको माओवादीले मुल्यांकन र आन्तरिक सर्कुलर गर्यो। त्यहि विन्दुबाट पुन: वाम सहकार्यको बाटो खुल्यो। केपी ओलीले प्रचण्डलाई बधाई दिनेदेखि एक अर्का दलले सहकार्यका लागि खुला रहेकोसम्मका अभिव्यक्ति यसबीचमा सार्वजनिक भए।
त्यसो त निर्वाचनको पूर्ण नतिजा नआउदै रुकुम पश्चिमबाट माओवादी उपमहासचिव जनार्दन शर्माले चुनाव जितेपछि दाङ २ बाट चुनाव हारेका एमाले महासचिव शंकर पोखरेलले शर्मालाई बधाई दिँदै फोन गरे । त्यस क्रममा पोखरेलले शर्मालाई सोधेका थिए, पार्टी के गर्ने हो ? शर्माले जवाफ थियो– मतपरिणाको नतिजा आएपछि बसेर मिलाउनुपर्छ । पार्टी मिलाउने हो । पार्टीका यिनै दुई प्रभावशाली नेताहरूले त्यहीबाट बामपन्थी एकताको बाटोमा जाने निर्णय गरे र निरन्तर आ-आफ्ना दलका पार्टी अध्यक्षलाई दवाव दिई नै राखे।
माओवादी र एमालेका थुप्रै नेताहरू चुनावमा एकअर्कासित पराजित भए पनि छलफल र भेटघाटलाई भने निरन्तर जारी राखे । माओवादी स्थायी कमिटी सदस्य रेखा शर्मासँग हारेका एमाले महासचिव पोखरेल, पृथ्वीसुब्बासँग हारेका देव गुरुङ, जितेका वर्षमान पुन, जनार्दन शर्मा, सुवास नेम्वाङ र विष्णु पौडेल दैनिकजसो फोन संवाद र निरन्तर भेटघाटमा व्यस्त थिए । यसरी क्रियाशिल नेताहरूमा देव गुरुङ र सुवास नेम्वाङबाहेक सबै लुम्बिनी प्रदेशका नेता हुन।
यसैबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउन लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री पोख्रेल र हालका मुख्यमन्त्री कुलप्रसाद केसीको गोप्य वार्ता भएको मुख्यमन्त्री केसीको सचिवालय खुलासा गरेको छ। गोप्य बार्ताको खुलासा गर्दै मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह विक्श्वकर्माले विगत एक महिनादेखि नै छलफल भईरहेको र दुवै मुख्यमन्त्री काठमाण्डौमा भेला भएर महत्वपुर्ण भेटघाटमा संलग्न भएको दावी गरेका छन् । प्रचण्डलाई एमाले सहितको समर्थनमा प्रधानमन्त्री बनाउने पहलमा पुष ३ गते मुख्यमन्त्री केसी काठमाण्डौँ पुगेका र काठमाण्डौँमा एमालेका महासचिव शंकर पोख्रेलसहितका नेताहरूसंगको भेटघाटलाई बाक्लो बनाउदै प्रचण्डको तर्फबाट लविङ्ग गरेर प्रचण्ड प्रधानमन्त्री हुने पक्का भएपछी मात्र मुख्यमन्त्री मुकाम फर्किएको सचिवालयको दावी छ।
यस विषयमा बोल्दै मुख्यमन्त्री केसीले भनेका छन्- “हामीले बामपन्थीहरुसँगको एकतालाई मजबुत बनाउनु नै पर्ने थियो, वर्तमान गठबन्धनले जसरी विश्वास लिन सकेन। पुर्ववत सहमति अनुसार पनि माओवादी केन्द्रलाई दिनु पर्ने हुँदाहुँदै पनि अंकगणितमा लागेर माओवादीलाई पुरै निस्क्रिय शक्तिको रुपमा बुझ्नु गलत थियो, त्यसैले हामीले यो कदम लिएका हौँ, छलफल चिनबाट उपमहासिचव चिनबाट फर्केपछि त्यसले पूर्णता लिएको हो ।”
आज (सोमबार) विहानै प्रचण्डको आग्रहमा मुख्यमन्त्री केसी पुन: काठमाण्डौँ गएको उनको सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology