देवदह । देवदह नगरपालिकाका नगरप्रमुख धुर्ब प्रसाद खरेलले उद्यमी बन्न चाहने युवालाई देवदह नगरपालिकाले विनाव्याज ऋण उपलब्ध गराउने बताएका छन्। सोमबार देवदह-६ स्थित देवदह सानाकिसान सहकारी संस्थाको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले नगरपालिकाले युवा उद्यमीका लागि ५० लाख छुट्याएको बताए ।
नगरपालिकाको बार्षिक कार्यक्रममा ५० लाख रकम नगर प्रमुख युवा उद्यमी कार्यक्रम अन्तरगत छुट्याईएको बताउंदै उक्त रकम बिना व्याज ऋण स्वरुप उपलब्ध गराईने जानकारी दिए। कक्षा १२ पछि युवाहरू विदेशीने अवस्थालाई रोकेर १२ पढेपछि युवाहरू उद्यमी बन्नुपर्ने नयाँ अभ्यासको सुरुवात हुनुपर्ने तर्क गर्दै प्रमुख खरेलले त्यसको लागि हाम्रो सोंचाईमा परिवर्तन हुनुपर्नेमा जोड दिए ।
कृषिजन्य पदार्थमा मात्रै पनि आत्मनिर्भर हुनसके देशले विकासमा फड्को मार्न सक्ने बताउंदै प्रमुख खरेलले उर्जावान युवाहरूलाई विदेश पठाउने र उनीहरूले पठाएको रेमिट्यान्सले धनि हुने सपनाबाट ब्युझिंन सहभागीलाई अनुरोध गरे। उनले भने, "आज दु:खलाग्दो विषय यो छ कि, हामी हाम्रा छोराछोरीलाई विदेश पठाउछौं र उनीहरूले पठाएको पैसाले धनि हुने र आलिशान महलमा बस्ने कल्पना गर्छौं। तर उत्पादन नै छैन भने आलिशान महलमै बसिएछ भनेपनि खाने के? त्यसैले मुख्यकुरा कृषि उत्पादन हो ।"
कार्यक्रममा बोल्दै सानाकिसान विकास लघुवित्तिय संस्था बुटवलका कार्यालय प्रमुख गणेश प्रसाद भट्टराईले कृषिमा जोडिएर व्यवसायीक कृषक बन्न चाहनेलाई बैंकले सहुलियत ब्याजमा ऋण उपलब्ध गराउने जानकारी दिंदै कृषिमा राम्रो सम्भावना भएकोले युवाहरूलाई त्यसतर्फ सोंच्न अनुरोध गरे। देवदह नगरपालिका प्रवक्ता गणेश डुम्रेले कुनै पनि विजनेशमा इमानदारीता मुख्य हुने भन्दै गहन अध्ययन र सकारात्मक सोंच सहित काम गर्न सबैमा अनुरोध गरे ।
सो क्रममा सार्वजनिक सुनुवाईको औचित्य र कार्यक्रमबारे बोल्दै संस्थाकी अध्यक्ष टिका गौतमले 'स्वच्छ दुध उत्पादनका लागि उन्नत गाईपालन व्यवसाय' उप-आयोजनाको काम सम्पन्न भएको जानकारी दिइन । कुल २ करोड लागतको उक्त आयोजना अन्तरगत २५ जना किसानलाई प्रति किसान ४ वटाका दरले गाई/भैसी वितरण गरिएको उनको भनाई छ । १४ जना महिला र ११ जना पुरुस गरि २५ जना किसान आयोजनाबाट लाभान्वित भएको जानकारी दिंदै अध्यक्ष गौतमले गाई/भैसी संगै गोठ निर्माण, पराल र दाना खरिद, किसानलाई एप्रोन, बुट, पन्जा, घाँसको विउसंगै दुध दुहुने बाल्टी र क्यान समेत उपलब्ध गराएको बताईन।
संस्थाका व्यवस्थापक सरला सुवेदीको संचालन र उपाध्यक्ष अजय कुमार रौनियारको स्वागत मन्तव्य रहेको कार्यक्रममा नगर पशु सेवा कार्यालयका प्रमुख हर्क बहादुर धामी लगायतले कार्यक्रमबारे बोलेका थिए।
कार्यक्रममा लाभान्वित २५ जना किसानसंगै देवदह नगरक्षेत्रका संघसस्थाका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology