काठमाडौँ । चुनावअघि एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न विभिन्न प्रस्ताव अघि सारेका छन् । भुसाल निकट स्रोतका अनुसार आफूले राखेका प्रस्तावमा सकारात्मक जवाफ आए उनी छिटै एकीकृत समाजवादीमा औपचारिक रूपमा प्रवेश गर्नेछन् ।
‘भुसालको प्रस्तावलाई समाजवादीले संस्थागत रूपमा स्वीकार गरेमा एकतामा जानुको विकल्प छैन तर ओली शैली नै कायम राख्ने हो भने सोचिएजस्तो नहुन सक्छ’, भुसालले आफूनिकटस्थहरुलाई भन्ने गरेका छन् । एकीकृत समाजवादीका तर्फबाट वाम एकताका लागि गठित वार्ता समितिका सदस्य समेत रहेका नेता प्रकाश ज्वालाले विभिन्न पार्टी, व्यक्ति र समूहसँग एकताको प्रयास भइरहेको भन्दै भुसालसँग पनि छलफल जारी रहेको प्रतिक्रिया दिए।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए । नेता भुसाले एकीकृत समाजवादीको वाम एकता वार्ता समितिसमक्ष ‘ कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ शीर्षकमा विभिन्न ५ वटा प्रस्ताव अघि सारेका छन् ।
‘कम्युनिस्ट आन्दोलनका उपरोक्त ऐतिहासिक अवसरलाई उपयोग गर्ने र कार्यभारलाई पूरा गर्ने संस्थागत सङ्कल्पका साथ नेकपा एकीकृत समाजवादीले अपिल गर्दा देशभित्र र बाहिर रहेका सबै कम्युनिस्ट, समाजवादी, वामपन्थी तथा प्रगतिशीलहरूमा एउटा नयाँ आशा जगाउन सक्छ’, भुसालको विश्वास छ।
भुसालले व्यक्तिगत लाभ हानी भन्दा पनि क्रान्तिकारी पार्टी निर्माणको प्रश्न मुख्य रहेको भन्दै लोकतन्त्र र वामपन्थलाई वास्तविक लोकतन्त्र र वास्तविक वामपन्थ बनाउने हो भने एकीकृत समाजवादी पार्टी आज कति ठुलो वा सानो छ भन्ने कुरा गौण राख्नुपर्ने बताएका छन् ।
‘पार्टी ठुलो हुनु मात्रै सबै कुरा हुन्थ्यो भने हामीले दुई तिहाइ शक्तिका साथ संसदमा खडा भएको, संघीय र प्रादेशिक तहमा सबैजसो सरकारहरूमा एकछत्र वर्चस्व भएको असाधारण शक्तिशाली पार्टी बनाएका थियौँ । केवल केहि व्यक्तिका गुटका स्वार्थका लागि त्यत्रो पार्टी बनाएर ढल्दै गर्दा हस्तक्षेप गर्न नसक्ने संरचना जतिसुकै ठुलो बनाए पनि त्यसले मुलुकलाई केहि दिँदो रहेनछ भन्ने तथ्य हामी सबैले बेहोरेर आएका छौँ’, भुसालको भनाइ छ । उनले मुलुकमा विचार तथा सिद्धान्तमा आधारित र आन्तरिक लोकतन्त्रको अभ्यास भएको कम्युनिस्ट पार्टीको निर्माण होस् भन्ने चाहाना राख्ने ठुलो क्रान्तिकारी जनमत रहेको भन्दै अहिले केवल यस विश्वासलाई वाणी दिने र साकार गराउने पार्टी र नेतृत्व आवश्यक भएको बताएका छन् ।
‘क्रान्तिमाथि बाहिरबाट हुने आक्रमण खतरनाक हुन्छन्, तर भित्रैबाट हुने आक्रमण पनि उत्तिकै खतरनाक हुँदा रहेछन् भन्ने कुरा भोगरै आएका छौँ । तसर्थ, मुख्य प्रश्न हाम्रो आन्दोलन कुन बाटो भएर अगाडि बढ्छ र कति समयमा कस्तो परिणाम निस्कन्छ भन्ने स्पष्ट योजना बनाउनु हो । त्यसरी अगाडि बढ्दा मुलुकले खोजेजस्तो पार्टी निर्माण गर्न सकिन्छ भन्ने कुरामा मेरो गहिरो विश्वास छ’, भुसालको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology