देवदह । भनिन्छ, ‘जसले मह काढ्छ, उसले हात चाट्छ,।’ तर यो उखान मौरीपालक किसानमा भने लागु हुँदैन । मौरीपालक किसान मह त काढ्छन तर आफु मात्रै हात चाट्दैनन, उनीहरू आफुले मेहनत गरेर उत्पादन गरेको महको स्वाद देश विदेशमा रहेका सबैलाई चखाउछ्न। तिनै मौरीपालक किसानमध्य एक हुन्,- देवदहका छविलाल भुर्तेल।
झन्डै एक दशकदेखि मौरीपालन गरेर मह उत्पादन गर्दै आएका भुर्तेलले महलाई जीवनकै आर्यआर्जनको आधार बनाए । अहिले उनले मौरीपालन व्यवसायबाट वार्षिक लाखौ आम्दानी गर्दै आएका छन्। उनले उत्पादन गरेको मह रुपन्देही जिल्ला र देशभित्रका अन्य स्थानमा मात्रै होइन, विदेशमा समेत माग हुने गरेको छ ।
नौ बर्षअघि २० घार अनुदानको मौरीबाट सुरु गरेको उनको 'मिठो व्यवसाय'ले एक दशक पुग्दानपुग्दै बार्षिक सात लाख रुपैयासम्म नाफा दिदै आएको छ ।
मौरी झैँ मेहनती भुर्तेलको घरमा अहिले ५६ वटा मौरीका घार छन्। त्यसो त सिजनमा एक सय भन्दा बढि घार हुने उनी बताउछन । एपिस मेलिफेरा जातको मौरी पालेका भुर्तेल यो व्यवसायवाट आफुले गतिलो कमाई गर्न सफल भएको बताउछन। शुरुका केहिवर्ष व्यवसायमा घाटा व्यहोरेका उनले निरन्तर मेहनत गर्न भने छाडेनन र अन्तत: पछिल्ला वर्षमा उनले व्यवसायबाट सोचे जतिनै आम्दानी लिंदै आएका छन ।
विक्रम् सम्बत २०६७ सालबाट व्यवसायीक माहुरीपालन गर्न थालेका कृषक भुर्तेलको मुख्य आम्दानी स्रोत नै मह हो। वर्षमा दुई पटक मह निकाल्ने गरेका उनले उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । "गुणस्तरीय मह भएकाले अधिकांश मह घरवाटै विक्रि हुन्छ । देशका धेरै ठाउँका ग्राहकहरुले घरमै आएर मह लैजानुहुन्छ" उनले भने। उनले उत्पादन गरेको मह घरवाटै प्रतिकिलो ६ सय रुपैयाका दरले बिक्रि हुने गरेको छ । उनी भन्छन, "बजारको समस्या छैन, एक सिजनामा ६ क्वीन्टल भन्दा बढि मह काढ्ने गरेका छौं, लगभग सबै घरबाटै विक्री हुन्छ।" एपीस मेलिफेरा जातको माहुरीको मह भीर माहुरीको जस्तै गुणस्तरीय हुने भएकाले पनि राम्रो फाइदा हुने उनको भनाइ छ ।
विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि आफु मौरीपालनमा हौसिएको बताउने उनले अहिले मह मात्र बिक्रि गर्दैनन्। मौरीको घार र गोला समेत विक्रि गर्ने गरेका छन् । वर्षमा दुई दर्जन भन्दा बढि घार समेत बिक्रि गर्ने गरेको उनी बताउछन्। उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् ।
दुनियाँको सबैभन्दा परिश्रमी प्राणी भनेर चिनिने मौरी जसले कसैको केहि विगार नगरी मिठो मह दिन्छ। मिठो मात्रै होइन, औषधीय गुणले समेत उत्तिकै महत्वपुर्ण मौरी र ति मौरी पालक किसानका पनि सत्रु हुन्छन भन्दा सायद पत्यार नलाग्न सक्छ। तर मौरीपालक किसान भुर्तेलले मिठो व्यवसायको नौ बर्षे अवधीमा अनुभूति गरेका नमीठा पलहरुमा पनि छन्। उनी भन्छन, हामी मौरी चराउन कहिले दाङ त कहिले रुपन्देहीको मर्चवारमा पुग्छौं तर कहिलेकाही चराउन लगिएका मौरीको घारमा केहि अपराधिक मनस्थितिका व्यक्तिले बिष हालिदिन्छन र मौरी मारिदिन्छन।" केही वर्षअघि आफुले चराउन लागेका मौरीको घारमा पनि विष हालिदिएर मारिदिएको घटना सम्झदै उनी भन्छन, त्यो बेला लाखौँ घाटा भयो। दुखले हुर्काएका मौरी मारिए। तर राज्यको यत्रोसंयन्त्रले हाम्रो आवाज सुनेंन। हामीले एकसुको क्षतिपूर्ति पाएनौं।"
त्यतिमात्रै होइन, दाङमा मौरी चराउन लैजादा मौरी सहितका घार बोकेको ट्रक पल्टिएर लाखौँ क्षती हुने गरेको बताउंदै उनले त्यसवापत पनि कुनै क्षतिपुर्तिको व्यवस्था नभएको गुनासो गरे। उनी भन्छन, "बिमा छ, तर बिमाले मौरीको बिमा गर्न मान्दैन, आउंछु भन्छ तर आउन्न।" मौरीसंगै नौ वटा गाई समेत पालेका भुर्तेलले गाईलाई देखाउंदै भन्छन, "हेर्नुस, गाईको विमा गर्न तुरुन्त बिमावालाहरू आउछन तर मौरीको बिमा गर्न किन हो कुन्नी दु:ख मान्छन ।"
त्यसैगरि कोरोना महामारीको अवधीमा देवदहमै पनि मौरी किसानहरूले राहत पाएको उल्लेख गर्दै उनले नगरपालिकाले १२ वटा वडामध्य वडा नम्बर ७ लाई मात्रै उक्त प्रक्रियामा सहभागी नगराएको भन्दै दुख व्यक्त गरे।
गाईपालक किसानले दुधमा अनुदान पाए झैँ आफूहरूलाई पनि महमा अनुदानको व्यवस्था नगरपालिका वा कृषि कार्यालयले गरिदिए मौरीपालक किसानलाई राहत हुने बताउंदै उनले त्यसो हुनसके सयौं युवाहरू विदेश जान छोडेर मौरी पालनमा आकर्षित हुने र त्यसले देश महमा आत्मनिर्भर हुनुका साथै विभिन्न ब्राण्डका नाममा प्याक भएर आउने गुणस्तरहिन विदेशी मह सेवन गर्न नेपाली बाध्य हुने परिपाटीको अन्त्य हुने बताउछन।
मौरीपालनले स्वदेशी पुँजी पलायन हुन रोक्ने, रोजगारीको सृजना हुने र मौरीपालन फस्टायो भने फूलखेती पनि फस्टाउने उनको भनाई छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology