माधव ज्ञवाली, गुल्मी । इच्छाशक्ति नै सबै मानिसमा हुनुपर्ने एउटा साझा गुण हो। मनिसमा इच्छा हुनुपर्छ, उसले चाहेको काम गर्न केही दुख होला, केही समय अवश्य लाग्ला तर काम सिध्द्द पार्न उसलाई असम्भव हुने छैन। भनिन्छ, एउटा मान्छेले धेरै क्षेत्रमा हात हाल्दा उ खुसी हुँदैन र सफलता मिल्दैन । यद्यपि सबैमा उक्त भनाई लागू हुँदैन ।
तिनै अपवाद हुन् - गुल्मीको गुल्मीदरबार २ जुभुङ्ग उर्लाकोटका भेषबहादुर रजाली । ४२ बर्षिय रजाली ब्यक्ति मात्र एक हुन् । तर उनको क्षमता र दक्षता अनेक छन् । उनको सोंच र गर्ने काम अनेक छन् । अनेक पर्यावाची सङ्ग जोडिएका उनलाई खासगरि सबैले एक सफल कृषकको रुपमा चिन्छन।

आजभन्दा करिब एक दशक पहिले रहरै रहरले आफ्नो पढाइ चटक्कै छोडेर विदेश उडेका रजालीले विदेशमा कत्ती पनि सुख पाएनन् । भन्छन्, "साथीहरुको लहैलहैमा पैसा कमाउने आशले विदेश गएँ। कहाँ सोचेजस्तो हुने रहेछ र ? निकै दुख भोगेँ, कमाई पनि गर्न सकिएन।"
कमाई गर्ने आशले दुवइमा करिब ३ बर्ष पसिना बगाएको उनी बताउँछन् । " गएको तीन बर्षमै कहिले पनि पुनः विदेश नजाने संकल्प सहित गाउँ फिरेँ।" उनी आफ्ना पुराना दिन सम्झिन्छन।
विदेश नजाँदै उनले घर खर्चलाई तरकारी लगाउँथे । थोरै थोरै मात्रामा टमाटर, फुलगोपी, बन्दा आदि इत्यादि लगाइरहेको अनुभव आफुसङ्ग पहिलेदेखि नै रहेको उनले अघि सुनाए।
कहिलेकाही संयोग कति मज्जाको मिल्ने रहेछ, एकताका गाविसले कृषकलाई टनेलको लागि अनुदान दिएको थियो । त्यही बेला नै उनी विदेशबाट फिरेका थिए । उनी भन्छन् " गाविसले प्रदान गर्ने अनुदानलाई सदुपयोग गर्छु र ब्यवसायिक कृषि गर्छु भन्ने सोचेर पुनः खेतीपाती गर्न थालेँ। गाविसले दिएको अनुदानबाट एउटा टनेल बनाएर खेती गर्दा राम्रै भएपछि पुनः टनेल थप गर्ने हौसला मिल्दै गयो ।"

अहिलेसम्म आइपुग्दा उनीसङ्ग ५ वटा टनेल छन् । अहिले त उनी टनेल आफै बनाउँछन । आफ्नो बारीमा भएका ५ मध्य ४ वटा टनेल उनी आफै बनाएको बताउँछन् । तरकारी बेचेर मात्रै वार्षिक ३ लाख जति आम्दानी गर्दै आएको उनी बताउँछन् । सिँचाइको लागि ६० हजार लिटर पानी अटाउने पानी पोखरी उनले बनाएका छन् । त्यसैबाट नै उनले आवश्यक पर्ने सिंचाइको ब्यवस्थापन मिलाएको बताए। कहिलेकाही बजार ब्यवस्थापनमा समस्या हुने र मूल्य नपाउने समस्या रहेको उनको गुनासो छ। स्थानीय निकायले पनि कृषकलाई हौसला प्रदान गरोस् भन्ने उनी चाहान्छन।
खेतीपाती सङ्गै मौरीपालनमा पनि उत्तिकै अब्बल रहेका छन् रजाली। करिब ३ बर्ष अघिदेखि मौरी पाल्दै आएका उनीसङ्ग अहिले १० वटा घारमा मौरी रहेकाछन् । आफैले टनेल बनाएका रजालीले मौरी घार पनि आफै बनाउँछन् । टुनिको काठबाट मौरीघार बनाएको उनले बताए। हालसालै मात्र १० वटा घार पुर्याएका उनले मौरीपालनबाट पनि राम्रै हुने अपेक्षा गरेका छन् ।

रजालीको गोठमा पुग्दा पनि अर्कै आनन्द मिल्छ। उनको गोठमा अहिले १० वटा बाख्रा र २ वटा भैंसी छन् । जसमध्ये ५ वटा बोका मात्रै छन् । बाख्रा बेचेर पनि बार्षिक डेढ लाख सम्म आम्दानी हुने उनले बताए।
तरकारी खेती, मौरीपालन तथा पशुपालनमा आफुलाई अब्बल सावित गरिरहेका उनले कुखुरा पनि पाल्छन। "थोरै थोरै भएपनि लोकल जातको र ब्रोइलर जातका कुखुरा पाल्ने गरेको छु। अहिले जाडोको सिजन भएकोले १ सय मात्र ब्रोइलर कुखुरा राखेको छु।" उनी सुनाउँछन् । परिवारमा आफू सहित ७ जना सदस्य रहेको र सबैको साथ सहयोग रहेको उनले बताए।गाउँघरबाट मकै,चावल, धान लगायतका खाद्यान्न कुटानी पिसानी पनि गर्न उनकै घरमा आउछन् । घरमा कुटानी पिसानीको मेसिन पनि राखेको उनले बताए।
विभिन्न पर्यावाचीले जोडिएका रजालीले घर वायरिङको काम पनि मज्जा सङ्गै गर्छन् ।" त्यति धेरै पढेको त हैन, तर घर वायरिङको काम पनि सिकेको थिए । करिब २२/२३ बर्षको हुँदा देखि नै घर वायरिङको काम पनि गर्दै आएको छु। हालसम्म धेरै घरमा वायरिङ गरिसकेको छु।" उनले सुनाए।
"केहि दिन पहिले मात्रै मेरो घरमा आएर उहाँले घर वायरिङ गरिदिनुभयो, उहाँको कामबाट निकै सन्तुष्टि छु।"स्थानीय नवराज चालिसेले बताए।
मान्छे एक भएपनि साच्चिकै रजालीले गर्न सक्ने काम अनेकौं छन् । उनी डोको र बस्ने मुढा पनि बुन्न पनि उत्तिकै सिपालु छन् ।"ब्यवसायिक रुपमा त डोका,मुढा आजसम्म बुनेको छैन तर घरको आवश्यकताको लागि बुन्ने गरेको छु।" उनी सुनाउँछन् ।
नयाँ नयाँ काम गर्न र सिक्न खोज्ने उनले पछिल्लो समय काठबाट बन्ने मकै छोडाउने मेसिन पनि बनाएका छन् । आफैले बनाएको सो मेसिनले मकै छोडाउँदै उनी भन्छन् "यसको सहायताले निकै छिटो र छरितो रुपमा मकै छोडाउन सकिन्छ । मेसिनले एक पटकमा एउटा मकै छोड्याउँछ,मेसिनको ह्यान्डल् भने हातले घुमानुपर्छ।" यसका साथसाथै क्रीकेट, भलिबल लगायतका खेलकुद र नाचगानमा पनि आफुलाई शोक रहेको उनको भनाइ छ।
बहुमुखी प्रतिभाका धनी रजालीको ब्यवसायिक कृषि कर्म र उनको अन्य कलाको प्रस्फुटनको लागि आजसम्म कुनै मिडियाको नजर नपुगेको र आफुले गरेको कर्मलाई सबैमाझ पुर्याउन सहयोग गर्ने पहिलो मिडिया `सेतोमसी´ भएकोले आफू निकै खुसी रहेको उनले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology