बुटवल । पाल्पाबाट प्रदेश सभा सदस्य पदमा निर्बाचित नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र)का केन्द्रिय सदस्य तुलाराम घर्ती मगर 'बसन्त' लुम्बिनी प्रदेशको सभामुखमा निर्बिरोध निर्वाचित भएका छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन बाकी छ ।
दलिय गठबन्धनमा माओवादी केन्द्रलाई लुम्बिनी प्रदेशमा सभामुख परेको थियो । सोमबार भएको उम्मेदवारी दर्तामा सभामुख पदमा उनको मात्र मनोनयन दर्ता भएको छ । उप सभामुखमा भने ३ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट राप्रकि मेनका खाड केसि, नेपाली कांग्रेसका बिश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टी कि निर्मलादेवी थारुको उम्मेदवारी परेको लुम्बिनी प्रदेश सभा सचिवालयका सचीव दुर्लभ कुमार पुनले जानकारी दिए ।
सभामुख पदमा निर्बिरोध निर्वाचित घर्तीमगर ०७४ को निर्वाचनमा समेत प्रदेश सभा सदस्यमा बिजयी भएका थिए । यस अघि उनी माओवादी केन्द्र संसदिय दलको प्रमुख सचेतकको जिम्मेवारीमा थिए ।
निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार ओम बहादुर घर्तीलाई ९४१ मतान्तरले पराजित गर्दै प्रदेस सभा सदस्य पदमा बिजयी भएका थिए ।
रोल्पा जिल्लाको खुमेल गाविसमा आमा अम्मुदेवी घर्ती मगर र बाबु चित्रमान घर्ती मगरको एकल सन्तान तुलाराम घर्ती मगर 'बसन्त'को जन्म २०२५ साल साउन १५ गते भएको थियो । गरिबी र अभावका कारण २०४२ सालमा उनको परिवार कपिलवस्तुको शिवगढी गाविसमा बसाइ सरेको थियो । २०४४ सालमा एसएलसी पास गरेपछि तत्कालिन अनेरास्ववियूको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गर्नु भएका घर्ती २०४५ सालदेखि ५० सम्म शिवगढी प्रावि विजगढीको संस्थापक प्रअ, २०४६ सालदेखि बाम राजनीतिक आन्दोलनमा सक्रिय भए ।
२०४८ साल असोज ३० गते शिवगढी गाविसको तुरुन्तपुरमा भिडन्त हुदा उनी घाइते भएका थिए । २०४७ सालदेखि साइनिंग सांस्कृतिक परिवार शिवगढीको सचिव, शिक्षक संगठनमा आवद्धता, २०५० सालमा फेरी अर्ध भूमिगत, नेकपा मशालको २०४७ देखि पार्टी सदस्य, २०४८ सालमा एरिया कमिटि सदस्य हुँदै माओवादी जनयुद्धमा होमिए ।
उनी अहिले माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् । मगर राष्ट्रिय मुक्ति मोर्चामा लगायतको मोर्चा र संगठन निर्माणमा उनको महत्त्वपूर्ण भुमिका रहेको छ ।
एक श्रीमती, २ छोरी र एक छोराका पिता घर्तीमगर रोल्पाबाट कपिलवस्तु शिवगढी र २०६८ मा तिनाउ गाउँपालिका–३, दोभान पाल्पामा बसाई सरेका हुन् । उनको स परिवार नै राजनीतिमा होमिएको थियो । श्रीमती दिल कुमारी रोका जानुका पनि पार्टी नेतृत्वमा छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology