काठमाडौं । पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका छन्।
शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ढुंगा गिटी निकासी सम्बन्धी निर्णय तत्काल फिर्ता लिन माग गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि अपिल गरेका हुन्।
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
प्रधानमन्त्री केपी ओलीबाट एकपछि अर्को गरी संविधानमाथि प्रहार भइरहेको उनीहरूले बताएका छन्। उनीहरुले यस्तो अवस्थामा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप तथा चलखेल हुन नपाओस् भनी सजगता अपनाउन सबैको ध्यान आकर्षित पनि गरेका छन्।
‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा वाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि सवैको ध्यान आकर्षित गर्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ।
पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले विज्ञप्तिमार्फत नेपाली जनताको लामो र कठोर संघर्ष तथा आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरिएको उल्लेख गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology