मगर जातीले आफ्नो गुमेको र गुमराह गरिएको मौलिक हक-अधिकारलाई शसक्त रुपमा स्थापित गर्न मगर दिवस मनाउंदै आइरहेको छ ।
मगर समुदायको इतिहास, भाषा, सांस्कृतिक संरक्षण सम्बर्धन मगरहरुको मूलमन्त्र, जातीय पहिचान, स्वायत्त शासन सहितको संघीय संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भन्ने मूल नारा बोकेको नेपाल मगर संघले हरेक बर्ष फागुन १५ लाई मगर एकताको दिवस को रुपमा मनाउने गरिन्छ ।
विश्वभर मगर दिवस मनाउनुको मुख्य कारण के हो त भन्ने विषयमा मगर समुदाय र गैरमगर समुदाय, शुभचिन्तक र आम नेपालीहरुलाई चांसोको विषय पनि बन्दै आएको हुनु पर्छ । कतिपयले यो दिवसको बारेमा राम्रो संग बुझेका छन् भने कतिपयले यो दिवसको बारेमा बुझ्न खोजिरहेका छन् । यो दिवस मनाउनु मगर जातीको आफ्नै पहिचानलाई जोगाउनु र समग्र मगर समुदायलाई सचेत बनाउंदै आफ्ना हकअधिकार र पहिचानलाई स्थापना गर्नु हो । मगर संघको सांगठानिक इतिहास हेर्दा वि.स. १९९७ सालमा प्रवास दार्जलिङदेखि सुरु भएको सुन्नमा आएको भएपनि तथ्य मैले भेट्न सकेको छैन् ।
संघको औपचारिक स्थापना भने वि.स. २०३८ सालमा भएको हो । जसले मगर दिवस मनाउंदै आज मगर दिवस विश्वभर मनाउदैछ । राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपश्चात वि.स. २०१२ सालमा गुल्मी जिल्लाको भार्से गाउंमाका पदमबहादुर घर्तिमगरको अध्यक्षतामा वृहत मगर भेला गरिएको थियो । त्यस भेलाले पश्मिाञ्चल स्तरीय वृहत मगर सुधार समिति गठन पनि गर्यो । यसरी म्याग्दीको औलो गाउंमा हर्कजीत पुनमगरको अध्यक्षतामा मगरहरुको हकहितका लागि एउटा समिति गठन भएको मगर इतिहासविद्धहरु बताउंछन् । त्यसपछि वि.स. २०१४ सालमा तनहुंमा जिने आलेमगरको सहयोगमा वृहत कार्यक्रम सम्पन्न भएको थियो । वि स २०२८ सालमा मुलुकभरबाट काठमाडौंमा आएर अध्ययनरत विद्यार्थीहरुलाई एकजुट गर्दै बाग्लुङ्ग जिल्लाका खिलध्वज श्रीसमगरको संयोजकत्वमा लाङघाली परिवार संघ स्थापना गरेका थिए ।
वि.स. २०३६ सालमा डा।हर्षबहादुर बुढामगरको अध्यक्षतामा लाङघाली परिवार संघ गठन गरेको पाइन्छ । मगर इतिहासविद्धहरुका अनुसार वि.स. २०३८ सालमा बुटवलमा केन्द्रीय भेला गरी हेम बहादुर पुनमगरको अध्यक्षतमा नेपाल लाङघाली परिवार संघको प्रथम तदर्थ समिति गठन भयो । त्यसपछि वि.स. २०३९ साल फागुनको १४,१५ मा तनुहंको दमौलीमा प्रथम केन्द्रीय महाधिवेशन गरियो । जुन महाधिवेशनले हेमबहादुर पुनलाई अध्यक्ष चयन गरेको थियो ।
नेपाल मगर संघको सांगठनिक रुपमा परिवर्तन आउंदै गर्दा वि.स. २०४२ सालमा नेपाल लाङघाली परिवार संघको नाम परिवर्तन गर्दै नेपाल लाङघाली संघ हुंदै दोस्रो महाधिवेशन सम्पन्न भएको पाइन्छ । जुन महाधिवेशनबाट कविराज पुनमगरलाई अध्यक्षमा चयन हुनुभएको थियो । वि.स. २०४२ सालमा मानध्वज रानामगरको अध्यक्षतमा तेस्रो महाधिवेशन गरियो । २०४७ सालको निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य संगै र बहुदलीय ब्यवस्थाको आगमनमा वि।स। २०४८ सालमा नेपालका पूर्व मन्त्री एवं आदिबासी जनजाति वरिष्ठ नेता गोरेबहादुर खपाङ्गीमगरको अध्यक्षतामा गठित समितिले पुरानो नाम नेपाल मगर लाङघाली परिवार संघलाई परिवर्तन गरी “नेपाल मगर संघ”मा नामाकरण भएको ईतिहासको पानामा भेट्न सकिन्छ। ।
अन्य जातिको तुलनामा फरक आफ्नै मौलिक संस्कार, संस्कृति, कला, भाषा बोकेको मगर जातीको रुपमा चिनिदै आएको छ। नेपालमा रहेका विभिन्न जातजातिहरुको आ-आफ्नै पहिचान र अस्त्तिव बोकेको छ, जसलाई दिर्घकालिन पहिचान दिन र राष्ट्रको पहिचान बनाउन आज सबै जातजातिहरु आफ्नो जातीलाई सचेत बनाउदै संगठीत हुंदै गईरहेको छ । तर बिडम्वन अहिलेको अवस्था हेर्ने हो भने, मगर संघलाई राजनैतिक दाउँ पेच बनाउन कम्मर कसिरहेका निवर्तमान अध्यक्ष, अन्तराष्ट्रिय मगर संघका संयोजक तथा नेकपा एमालेका केन्द्रिय सदस्य सम्म रहेका नबिन रोका मगर, देखि बर्तमान अध्यक्ष ज्ञानेन्द्र पून मगर को ठूलो हात रहेको बुझ्नु पर्छ ।
लाङघाली परिवार संघबाट नेपाल मगर संघमा आईसक्दा देश र विदेशमा रहेका मगर समुदायलाई एकिकृत, संगठीत र संरक्षीत गर्न गठन भएको मगर संघलाई आज आएर फागुन १५ को बार्षिक रुपमा मगर समुदायको एकता भएको दिनको उपलक्ष्यमा मनाउन थालिएको हो । यसरी मगर संघको मूल उद्देश्य र लक्ष्य लाई आत्मासाथ गर्दै जातीय चेतना, जनजागरण, इतिहास, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण, संबद्धन र कला जीवनप्रतिको खोजी, समाजिक विकासका कार्यशैली, कार्यदिशा र कार्ययोजनाको थालनीहरु मगर समुदायले गर्दै आइरहेका छन ।
इतिहासविद् एमएस थापाको भनाई अनुसार नेपालका मूलबासी नै मगरहरु हुन भनेर किटान गरेका छन् । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा पहिला नेपालमा धेरै मगर राज्यहरु थिए र कालीगण्डकी देखि दांया अथवा पूर्वतिर १२ वटा र बांया पश्चिमतिर १८ वटा मगर राज्यहरु थिए । जुन राज्यहरुलाई १२ मगरात र १८ मगरात भन्ने गरिन्थ्यो । ति राज्यहरुमध्ये धेरै शक्तिशाली राज्यहरु पाल्पा र गोर्खा रहेको मानिन्थ्यो । जुन राज्यहरुमा मगर राजाहरु थिए, ति समयमा राजा, मन्त्री, भारदार, निजामति कर्मचारी सेना तथा सरकारी निकायहरुमा सबै मगरहरुको पहुंच थियो । जुन समय मगरहरु भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचानहरु अपार शक्तिको रुपमा स्थापित थियो । जब पृथ्वीनारायण शाहले नेपाल एकीकरण तथा १०४ वर्षे राणा शासनकालमा मगरहरुको हकअधिकार, भाषा, धर्म, संस्कृति, भेषभुषा तथा पहिचान गुमराह शून्य स्थितिमा परिणत भयो ।
धेरै धनि मगरहरु तथा राज्यका विभिन्न निकायका वरिष्ठ पदाधिकारीहरु गैरमगर जातीहरुमा पयालन भएका हामी बुद्धिजिवीहरु बाट सुन्न र जान्न सकिन्छ । जसले गर्दा मगरहरुको हकअधिकार र पहिचान शून्य स्थिति र अझै भयावह स्थिति पुग्न गयो । २००७ सालमा नेपालमा प्रजातन्त्र स्थापित भयो त्यसपछि केही बुद्धिजिवि मगरहरुले सा–सानो झुण्डमा संगठीत हुंदै गएर आज मगर संघ मात्र होइन मगर संघको भातृसंघ गठन गरेर अझै शसक्त रुपमा अघि बढेको पाईन्छ। जसमा नेपाल मगर विद्यार्थी सघ, नेपाल मगर महिला संघ, नेपाल मगर खेलकुद संघ, युवा संघ, नेपाल मगर भूपु सैनिक प्रहरी संघ, मगर लेखक संघ, मगर चलचित्रकर्मी संघ, नेपाल मगर बौद्ध सेवा समाज, सम्पर्क तथा समन्वय समिति जस्ता बिभिन्न मगर संघ सम्बन्धीत निकायहरु राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै यी संघहरु क्रियाशील रहेका छन् । यसरी मगर जातीले आफ्नो गुमेको र गुमराह गरिएको मौलिक हक-अधिकारलाई शसक्त रुपमा स्थापित गर्न मगर दिवस मनाउंदै आइरहेको छ । त्यसको फलस्वरुप आज राज्य समेत मगर समुदायको आवाजलाई सुन्न बाध्य भइरहेको छ । एक दिन मगर समुदायको भावना, आवाज र पहिचान ईंसाप ढिलै भएपनि हुने नै छ, भन्ने कुरा ठोकुवा साथ गोरे बहादुर खपाङ्गे मगर ईतिहासको पानमा छोडी जानु भएको छ। अग्रज स्व. गोरे बहादुर खपाङ्गी प्रति श्रद्धा सुमन !
लेखक : सन्जय सिँजली मगर
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology