देवदह । देवदह नगरपालिका वडा नं. ५ मा अवस्थित पानबारी खेलमैदान मगर समुदायका सांस्कृतिक पोशाक पहिरिएका रंगीचंगी मान्छेहरूको जमघटले भरिएको छ। साना ताते-ताते हिड्ने बच्चादेखि जेष्ठ नागरिकसम्मले मगर समुदायको सांस्कृतिक पोशाक पहिरिएका छन् र एक अर्कामा खुसि साटासाट गरेका छन्। मगर महिलाहरू रातो घलेकी सहितका पोशाक र पुरुषहरू सेतो भाङ्ग्रामा सजिदा पानबारी खेलमैदान हजारौं फूलहरू एकैसाथ ढकमक्क फुलिरहेको विशाल बगैंचा झैँ सुन्दर देखिएको छ ।

सन्दर्भ हो, ४१औं मगर एकता दिवस । नेपाल मगर संघ देवदहले सधैं झैँ देवदहमा मगर दिवस मनायो। खेलकुद सहित विभिन्न कार्यक्रम र शुभकामना आदानप्रदान गरी मगर एकता दिवस मनाईरहदा मगर समुदाय मात्र नभएर अन्य समुदायका युवायुवती समेतले मगर ड्रेसमा सजिएर हर्सोल्लास सहित मगर संस्कृतिको सम्मान गरे।
मगर एकता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जानकी न्यौपानेले नेपालमा रहेका हरेक जातीका भाषा, संस्कार, संस्कृतिको संंरक्षण र सम्बद्र्धन गर्ने काम राज्यको दायित्व भएको उल्लेख गरिन्। भाषा, संस्कारको संरक्षणले मात्र पहिचान कायम हुन सक्ने हुँदा बालबालिकालाई आफनो मातृभाषा सिकाउन आवश्यक रहेकोमा जोड दिंदै न्यौपानेले मातृभाषा बालबालिकालाई सिकाउन सकेमात्र संस्कृतिको संरक्षण हुने भनाई व्यक्त गरिन्।
कार्यक्रममा बोल्दै अर्का प्रदेश सांसद निर्मलादेवी चौधरीले आदिवासी जनजातिहरुको मातृभाषा संरक्षणको लागि आफुले पहल गर्ने बताइन्। राष्ट्र निर्माणदेखि हरेक न्यायपूर्ण आन्दोलनमा आदिवासी जनजाती समुदायले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै संसद चौधरीले सोहि अनुरुप राज्यले आदिवासीलाई सम्मान गर्दै आदिवासीका मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिईन्।
त्यसैगरी देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले विभिन्न जातजातीको भाषा, संस्कार र संस्कृति संरक्षणको लागि नगरपालिकाले बजेटको व्यवस्था गर्दै आईरहेको उल्लेख गरिन् । स्थानीय भाषा, संस्कार र संस्कृतिको संरक्षणले मात्र देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न सकिने बताउंदै उनले नगरपालिकाले भाषा, संस्कारको संरक्षणको लागि पहल गरिरहेको धारणा व्यक्त गरिन्।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुन, देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, नेपाल मगर संघ रुपन्देहीका सदस्य खरसिं श्रीष, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, तमु भाषा अभियन्ता भिमप्रसाद गुरुङ्ग, नेपाली कांग्रेसका नेता वासुदेव रिमाल, नेकपा एमालेका नगर अध्यक्ष हिराबहादुर थापा, सगरमाथा कलेजका प्रमुख कृष्णप्रसाद पौडेल, संघका पुर्वअध्यक्ष लालबहादुर दर्लामी, नेवाः पुचः देवदहका अध्यक्ष कुशल श्रेष्ठ, भविन्द्र थापामगर लगायतले आ–आफना भनाई राखेका थिए।
सो अवसरमा देवदह नगरपालिका–५ का ९३ बर्षीय चित्रकला रानालाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो भने मगर समुदायका कार्यक्रममा सहयोग गर्नेहरुलाई समेत सम्मान गरेको थियो ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको कार्यक्रम नगर समितिका कोषाध्यक्ष मिलन मास्की रानाको स्वागत र सचिव मनबहादुर राना र चोलीमाया रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमस्थल पानबारी खेल मैदानमा मगर समुदायका सांस्कृतिक खानासंगै बालउद्यान र अन्य व्यवसायिक गतिविधीले कार्यक्रममा रौनक थपेको देख्न सकिन्थ्यो।
त्यसैगरी मगर दिवसकै अवसरमा देवदह-१० चरंगेमा समेत शुभकामना आदानप्रदान सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य अब्दुल रज्जाक लगायतका नेताहरूले मगर समुदायको संस्कृतिको चर्चा गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology