देवदह । देवदह नगरपालिका वडा नं ५ मा अवस्थित मितेरी गाउँलाई दुर्व्यसनमुक्त र बालमैत्री बनाईने भएको छ । स्थानिय स्मृति युवा क्लबको अगुवाई र देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेको उपस्थितिमा मंगलबार सम्पन्न सर्वपक्षीय भेलाले गाउँलाई दुर्व्यसनमुक्त र बालमैत्री बनाउने निर्णय गरेको हो।
दुर्गामन्दिर टोल, माथागढ़ी टोल र सुन्दर टोल गरि तीनवटा टोल मिलेर बनेको मितेरी गाउँमा करिव चार सय घरधुरी रहेका छन्। यस गाउँमा दुर्व्यसनयुक्त सुर्तीजन्य पदार्थहरू (चुरोट, सुर्ती, गुड्खा, पान, भोला) र मदिरापानको सार्वजनिक प्रयोग र किनबेचमा कडाई गरिने तथा जुवातास, बालमजुदर, बालविवाह र दाइजो प्रथा लगायतका असामाजिक गतिविधिलाई निषेध गरिने भएको हो।
बैठकपछि सेतोमसीसंग कुरा गर्दै देवदह नगरपालिका वडा नं ५ का अध्यक्ष समेत रहेका प्रवक्ता डुम्रेले स्थानीय युवाहरूको अगुवाईमा भएको गाउँ भेलाले गरेको निर्णय असामान्य र ऎतिहासिक भएको बताए। देवदह नगरपालिका बालमैत्री नगरपालिका घोषित हुने तयारीमा रहेको उल्लेख गर्दै प्रवक्ता डुम्रेले मितेरी गाउँले देवदहलाई बालमैत्री र दुर्व्यसनमुक्त बनाउने अभियानको सुरुवात गरेको र सबै टोलहरूमा यस प्रकारको अभियान सुरु हुनसके कागजमा मात्रै नभएर व्यवहारमै देवदह नगरपालिका दिर्घकालसम्म बालमैत्री र सबैखाले सामाजिक हिँसामुक्त नगरको रूपमा विकसित हुन सक्ने धारणा व्यक्त गरे।
भेलाको अगुवाई गरिरहेको स्मृति युवा क्लबका अध्यक्ष नविन लुईटेलले सभ्य र स्वस्थ गाउँ निर्माण तथा असामाजिक र कानुनले निषेध गरेका गतिविधिहरूलाई निरुत्साहित गर्न क्लबको अगुवाईमा गाउँ भेला गरिएको बताए। उनले भने, "अहिले हामीले सुरू गरेको यो काम सानो झिल्को हो, यसले सिंगो देवदह नगरपालिका र यस क्षेत्रलाई नै बालमैत्री, सामाजिक हिंसामुक्त र सु-संस्कृत बनाउने कार्यमा मदत गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं।"
मितेरी गाउँको दुर्गा मन्दिर प्रांगणमा भएको भेलामा देवदह नगरसभा सदस्य देवी न्यौपाने, सावित्रा पौडेल, देवदह नगर बाल संजाल सचिव संस्कृति जिसी, कोषाध्यक्ष सन्देश पाण्डे, देवदह नगरपालिका वडा नं ५ बाल क्लब अध्यक्ष सृजना गैरे, दुर्गा मन्दिर टोल विकास संस्थाका अध्यक्ष ठगप्रसाद भण्डारी, माथागढ़ी टोलविकास संस्थाका नारायण रेग्मी, सुन्दर टोल विकास संस्थाका प्रविन पौडेल, दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष घनलाल सुवेदी, देवदह नगरपालिका वडा नं ५ कि स्वयंसेवीका भगवती भट्टराई, स्थानिय आमा समूहका प्रतिनिधि लगायत ७० जना स्थानिय नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology