विनाेद परियार, बुटवल । संसारमा १ सय ९५ देश छन्। यीमध्ये कति देशले नेपाल चिनेका होलान् ? जबाफ खोज्न कठिन छ । नेपालबारे थाहा नपाए पनि बुद्ध र लुम्बिनीलाई भने आधाभन्दा बढी विश्वले चिनेको रहेछ ।
विश्वमा अस्तित्वमा रहेका १ सय ९५ मध्ये आधाभन्दा बढी अर्थात् एक सय देशका नागरिकले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेकेर आफ्नो देशको सम्झनास्वरुप पैसा छाडेर गएका छन्।
लुम्बिनी विकास कोषले करिब दुई दशकदेखि बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा बुद्धका लागि श्रद्धापूर्वक चढाइएका भेटीबापतको मुद्रा सटहीका लागि वर्गीकरण गर्दा यो तथ्य फेला परेको हो।

‘मुुद्रा सटही नहुने भएकाले सुरक्षित मात्रै बनाएर राखिएको थियो। अहिले राष्ट्र बैंकले सटही गर्ने भनेपछि मुद्रा केलाउँदा एक सय देशको भेटियो’, लुम्बिनी विकास कोष राजस्व शाखामा कार्यरत विकास लामाले भने, ‘हामी आश्चर्यमा पर्यौँ। यति धेरै देशबाट मानिस लुम्बिनी आएको भन्ने लागेको थिएन।’
उनका अनुसार संकलित सय देशका नमुना मुद्रालाई देशअनुसार छुट्याएर खामबन्दी गरी राखिएको छ। राष्ट्र बैंकमा पठाउने नोट छुट्याएर ठिक्क पारिएको र अन्य केही नचल्ने तथा नमुना नोटलाई संग्रहालय बनाउने सोचका साथ सुरक्षित गरिएको लुुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराईले बताए।
‘विश्वले चिन्ने भनेको बुुद्ध र लुम्बिनी हो, विश्वका सय देशबाट लुम्बिनी आएको प्राप्त मुद्राले पुुष्टि गरेको छ’ कोषाध्यक्ष भट्टराईले भने, ‘विश्वको मुद्रालाई संरक्षण गर्ने सोचेका छौँ।’ उनले बुुद्ध जन्मस्थल लुम्बिनीप्रति विश्वका आधा बढी देशबाट मानिस आइसकेको बताउँदै अब बौद्धमार्गी देशबाट समेत बढीभन्दा बढी पर्यटक भित्र्याउने गरी योजना बनाइने बताए।
कुनकुन देशका छन् मुद्रा?
लुम्बिनीमा ठूला शक्ति राष्ट्रदेखि कमै नाम सुुनेका देशबाट समेत आएर मायादेवीमा भेटी चढाएको पाइएको छ। चीन, भारत, संयुुक्त राज्य अमेरिका, जापान, हङकङ, बेलायत, सिंगापुरसहितका राष्ट्र बैंकले परिवर्त्य सूचीमा राखेका मुद्राबाहेक पनि सय देशका मुद्रा लुम्बिनीमा भेटिएको हो।
कोषका अनुसार श्रीलंका, म्यानमार, भियतनाम, भुटान, मंगोलिया, कम्बोडिया, बंगलादेश, लाओस, पाकिस्तान, इन्डोनेसिया, मेक्सिको, ओमन, अर्जेन्टिना, मकाउ, पेरु, अफगानिस्तान, इरानी, माल्दिभ्स, चिल्ली, मोरिसस, युगान्डाका मुद्रा भेटिएका छन्।
यस्तै न्युजिल्यान्ड, ब्राजिल, इराक, सियारा लिओन, लेबनान, जोर्डन, रुस, युक्रेन, स्विडेन, टर्की, ग्वाटेमाला, पोल्यान्ड, इजिप्ट, ब्रुनाई, इजरायल, सिरिया, स्लोभाकिया, घाना, केन्या, सुडान, बहराइनका मुद्रा छन्।
दक्षिण अफ्रिका, रोमानिया, बुल्गेरिया, यमन, मलावी, सर्भिया, इथियोपिया, सालभाडोर, रुवान्डा, होन्डुरस, भेनेजुयला, जाम्बिया, कुँवेत, स्कटल्यान्ड, पोपुवा न्युगिनी, डेनमार्क, क्यानाडा, लिबिया, जर्जिया, बेलारुसका मुद्रा कोषमा संकलन भएको छ।
नाइजेरिया, कंगो, इटाली, एंगोला, कोलम्बिया, सोमालिया, मोल्डोभा, हंगेरी, चेच्निया, न्यु साउथ वेल्स, स्विट्जरल्यान्ड, काजिकस्तान, उज्वेकिस्तान, तान्जानिया, क्युबा, जाम्बिया, जर्मनी र अस्ट्रेलियाका मुद्रा लुम्बिनीमा चढाइएको छ।
त्यस्तै नेदरल्यान्ड, हैटी, मोजाम्बिक, भानाउटु, बुर्किना फासो, बोलिभिया, मडागस्कर, डोमिनिकन रिपब्लिक, गिनिया र ट्रान्सनिस्ट्रियाका मुद्रा पनि कोषमा चढाएको पाइएको छ।
मुद्रा संग्रहालय बनाउन सुझाव
विश्वभरका मानिसले बुुद्धप्रति श्रद्धा राखेर आफ्नो देशको मुद्रा चढाएकाले त्यसलाई संरक्षण गर्नुपर्ने आवाज उठेको छ।
बुद्धका कारण विश्वभर जोडिएको लुम्बिनीको महत्त्व दर्शाउन पनि मुद्रा संग्रहालय बनाउनुपर्ने विज्ञहरुको सुुझाव छ। लुम्बिनी विकास कोषले संकलित भेटीबापतको विभिन्न देशको मुद्रालाई ‘मुद्रा संग्रहालय’ का रुपमा विकास गर्नुपर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राध्यापक डा. गितु गिरी बताउँछन्।

‘मुद्रा संग्राहलय बनाउन सके त्यसले लुम्बिनीलाई विश्वसँग जोडछ’, प्रा.डा. गिरीले भने। सटही नहुने मुद्रालाई तत्कालै लुम्बिनी विकास कोषकै संग्रहालयमा राख्न सकिने उनको भनाइ छ। ‘मुुद्राकै कारण पुरातत्त्वप्रति पर्यटकहरुको रुचि बढाउँछ’, उनले भने। संकलित मुद्राहरुलाई संग्रहालयमा संरक्षण गरी राख्न सकेमा त्यसले लुम्बिनीको गरिमालाई अझ उच्च पार्ने उनले बताए।
सटही नहुँदा करोडौँ रकम कागज बराबर
नेपाल राष्ट्र बैंकले परिवत्र्य सूूचीमा नराखेका देशका मुद्रा सहज रुपमा सटही नहुने भएकाले लुम्बिनीमा २०६० सालयता विदेशीले चढाएका भेटीबापतको मुद्रा यतिकै थन्काएर राखिएको छ।
पछिल्लो दशकमा पर्यटक बढ्न थालेपछि क्रमशः सटही नहुने मुद्रा बढ्न थालेको थियो। विकास कोषले आर्थिक वर्ष ०७१/०७२ सालदेखि भने लगत निकालेर ती रकम बोरा र बाकसमा थन्काएर राखेको छ। आर्थिक वर्ष ०७१/०७२ देखि एक करोड १७ लाख ९५ हजार नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा सटही नभएर कागज बराबर थन्काएर राखिएको कोषले जनाएको छ।
लुम्बिनी विकास कोषका तर्फबाट फागुन ११ गते कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले राष्ट्र बैंक सिद्धार्थनगरमा ध्यानाकर्षणपत्र बुझाएपछि राष्ट्र बैंकले कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सैद्धान्तिक सहमति दिएको थियो।
राष्ट्र बैंकले सटही गर्ने जनाएपछि विकास कोषले मुद्रालाई वर्गीकरण गरेर तयारी अवस्थामा राखेको कोषका कोषाध्यक्ष भट्टराईले बताए। ‘हामी सटहीका लागि तयार भएका छौँ। राष्ट्र बैंकले केही देशहरुले अहिले डलर दिन नसक्ने जानकारी गराएर ढिलो भएको छ’, उनले भने। उनले आफूहरूको पटकपटकको प्रयासपछि संकलन भएका विदेशी मुद्रा चाँडै सटही गर्ने दाबी गरे।
मायादेवी मन्दिरमा बुद्धप्रति श्रद्धापूर्वक चढाइएका मुद्रा नीतिगत समस्या र विदेशी मुद्रा भएका कारण सटही हुन नसकेको हो। लुम्बिनीमा विभिन्न देशबाट आएका पर्यटकहरुले बुद्धप्रति श्रद्धा र सम्मान गर्दै आफ्नै देशको मुद्रा चढाउने गर्छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology