राजेश पराजुली, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैविक विविधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ ।
प्रदेश सरकारको सहयोगमा निर्मित सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अबलोकन, परिभ्रमण र होमस्टे बसाईका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको अन्नपूर्ण ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए ।
५४ रोपनी क्षेत्रफल निर्धारण गरि प्रारम्भिक निर्माण सुरुवात गरिएको सो पार्कमा चौतारी, फुट ट्र्याक, घण्टी पोखरी, बगैंचा, बिसौनी स्थल समेत निर्माण गरिएका छन् । आगामी दिनमा ढुङ्गे धारा, योगा मेडिटेसन स्थल, टि सप, बोटानिकल गार्डेन, साँस्कृतिक घर, शौचालय, पानी फोहरा, कुटी, पाटीपौवा, सुटिङ स्टेसन, हर्बल गार्डेन, सुनाखरी बगैंचा, सुन्दर फोटो स्टेसन लगायतका पूर्वाधारहरु पनि निर्माण क्रमिक रुपमा अगाडि बढाई पञ्चासेको उत्कृष्ट पर्यटन पूर्वाधारका रुपमा विकास गरि पर्यटक भित्राउने लक्ष्य रहेको पार्क निर्माण समिति अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए ।
प्रसिद्ध धार्मिक, पर्यटकीय एवं साँस्कृतिक तीर्थस्थल पञ्चासेको पर्यावरणीय महत्त्व, जैविक विविधता र पर्यापर्यटन प्रबर्द्धन अभियानमा यी र यस्ता पूर्वाधारले सघाऊ पुर्याउने स्थानीयको धारणा छ ।
पञ्चासेको मूलद्वारका रुपमा रहेको भदौरे क्षेत्रमा पर्यटक आवागमनमा वृद्धि गर्दै स्थानीयवासीको आयस्तर समेत उकास्ने अभियानका साथ आवधिक योजनाको रुपमा बृहत् पर्यटन पूर्वाधारको रुपमा विकास गर्न लागिएको पञ्चासे जैविक बिबिधता पार्कको यहीँ बैशाख १ गते नयँबर्षको अबसर पारेर उद्घाटन गरिने पार्क निर्माण समितिले जनाएको छ। नयाँबर्षको अबसरमा पञ्चासेको पर्यापर्यटन प्रबर्द्धनका निम्ति पञ्चासे सुनाखरी पदयात्रा नामक हाईकिङ्ग कार्यक्रम समेत आयोजना गरि पञ्चासे जैविक विविधता बिबिधता पार्कको समुद्घाटन गरिने बताईएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology