Logo

२०८३, श्रावण ३०गते


images
images

लघुवित्तीय साक्षरता आजको आवश्यकता 

लघुवित्तीय साक्षरता आजको आवश्यकता 

images
  • लघुवित्तीय साक्षरता आजको आवश्यकता 
    images
    images

    लघुवित्त एउटा सामाजिक बैंकिङ्ग हो । यसमा आउने उतारचढावको आयाम विविध हुन्छन् । यसलाई समयानुकुल विकास गर्न सकिएन भने यसले आफूलाई बचाउन सक्दैन । त्यसैले पनि यस क्षेत्रमा अध्ययन, अनुसन्धान र खोजको ठूलो महत्व हुन्छ ।

    images
    images
    images

    अहिले जताततै कुनै कुराको अत्याधिक चर्चा छ भने त्यो हो, लघुवित्त । भलै चर्चा सकारात्मक छैन । लघुवित्तले अनावश्यक कर्जा दियो, ब्याज दर बढी लियो, घरबार बिहिन बनायो, अभद्र व्यवहार ग¥यो आदि इत्यादि चर्चाका बिषय हुन् । केही व्यक्तिहरुले लघुवित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा मिनाहा गर्नुपर्छ भन्दै आन्दोलन गरेका छन् । मिडियाहरुले तिनै र त्यस्तै खबर सम्प्रेषण गरेका छन् । तर नकारात्मक चर्चा मात्रै तारन्तार आईरहँदा सकारात्मक चर्चा पर कतै छुटेको छ । ओझेल परेको छ । कम सुनिएको छ । यहाँ प्रश्न उठ्छ के सकारात्मक चर्चा गर्नुपर्ने गरी लघुवित्तहरुले सकारात्मक प्रभाव छाडेका छैनन् त ? छन् भने ति समाचार किन आउदैनन् त ? यो विचारणीय कुरा हो ।

    images
    images
    images

    निश्चय पनि लघुवित्तहरुले समाजमा धेरै नै सकारात्मक प्रभाव छाडेका छन् । ग्रामिण इलाकामा पुगेर घर घरमा वित्तीय पहुँच मात्रै पु¥याएका छैनन् वित्तीय ज्ञान पनि दिएका छन् । कैंयौ व्यक्तिहरुलाई उद्यमी बनाएका छन्, कैयौ व्यक्तिहरुलाई बचतकर्ता बनाएका छन् । आजको दिनमा ग्रामिण इलाकाका मानिसहरुमा त्यसमा पनि महिलाहरुमा बचत गर्ने बानीको विकास भएको छ भने त्यो लघुवित्तहरुका कारण सम्भव भएको छ । महिला सशक्तिकरण र वित्तीय समावेशीकरणमा लघुवित्तको भुमिका त बेहिसाब नै छ । यति भन्दा भन्दै केही सदस्यहरुले कर्जा चलाउन नजानेर, मिटर ब्याजीको फन्दामा परेर, लघुवित्त संस्था तथा कर्मचारीहरुको कमजोर विश्लेषण तथा नियामक निकायको नीतिका कारण समस्या उत्पन्न भएको अवस्थालाई अस्वीकार गर्न हुदैन । त्यो यथार्थपरक हुदैन । त्यसमा कसको कति भूमिका छ, अनुसन्धानको बिषय हो । तर अहिले नकारात्मक चर्चा मात्रै आइरहँदा सकारात्मक चर्चा किन छैन भन्ने बिषयले भने हामी सरोकारवालाहरुलाई गम्भिर बनाएको छ । बनाउनुपर्ने हो । जब कि लघुवित्तले गरेका सकारात्मक कामहरुका धेरै आयाम छन् । हरेक बिषय र क्षेत्रका सबल पक्ष र कमजोर पक्ष दुवै हुन्छन् नै । कुनै पनि क्षेत्रलाई अगाडी बढाउनु छ भने त्यसका सबल पक्षहरुलाई विस्तार गर्दै र कमजोरीहरुलाई सुधार गर्दै जानुको विकल्प छैन । यो परिवर्तन र विकासको नियम पनि हो । तर अहिले लघुवित्तका बारेमा चौतर्फी नकारात्मक चर्चाहरु मात्रै आइरहँदा सकारात्मक चर्चा किन सुस्त र कमजोर छ त ? 

    images
    images
    images

    यसरी सकारात्मक चर्चा नहुनाका धेरै कारणहरु छन् । ति मध्ये मुख्य कारण हो, हामीमा लघुवित्तीय साक्षरता (Micro financial Literacy) नहुनु । यो सानो लेखमा अहिले म यही एउटा कारणमा मात्रै केन्द्रित रहन्छु । अन्य कारणहरु तथा लघुवित्तका अन्य आयामहरुलाई अन्य लेखमा चर्चा गर्ने नै छु ।   

    लघुवित्तीय साक्षरता (Micro financial Literacy) भनेको के हो?

    लघुवित्त भनेको के हो? यसले कसरी काम गर्छ? यसले सेवा प्रदान गर्ने तौरतरिका र आधार के हो? कर्जा माग गर्ने विधि र प्रक्रिया कस्तो छ? बचत गर्न र कर्जा असुल गर्न कुन मोडेल अपनाइएको छ? कस्ता कस्ता कानुन बमोजिम कस्ता कस्ता कागजातहरु प्रयोग गरेर कार्यक्रम संचालन भईरहेको छ? यो अवधारणाको उत्पत्ति किन र कहाँबाट भयो? यो अवधारणा विश्वव्यापीकरण कसरी र किन भयो? यो कसलाई र किन चाहिन्छ? यसलाई समाजले किन स्वीकार ग¥यो? आदि बिषय नै लघुवित्तीय साक्षरता भित्र पर्ने कुराहरु हुन् जुन कुराहरु हामीले जनमानसमा प्रष्ट पार्न सकेका रहेनछौ । यस्तो बहुउपयोगी अवधारणाको बारेमा हामीले जनमानसलाई बुझाउनै सकेका रहेनछौ । हामीले आजसम्म लघुवित्तीय ज्ञानलाई वित्तीय साक्षरताभित्रै समेटेर बताउने गरेका छौ जसले मानिसहरुमा लघुवित्तको बारेमा प्रष्ट जानकारी पुग्न सकेको छैन । जबकी लघुवित्तीय ज्ञान र वित्तीय ज्ञान नितान्त फरक बिषय हुन् । 

    अहिले विभिन्न लघुवित्त संस्थाहरुले देशका विभिन्न स्थानमा आयोजना गरेका वित्तीय साक्षरताका कार्यक्रमहरुमा आउने अतिथीहरु मन्त्री, संसद, मेयर, उपमेयर, वडाअध्यक्ष तथा अन्य जनप्रतिनिधी, समाजसेवी, प्रशासक, प्रहरी तथा पत्रकार आदिले ‘ए लघुवित्त भनेको त यस्तो पो रहेछ, यसरी पो काम गर्ने रहेछ, हामीलाई त थाहै थिएन’ भन्नुहुन्छ । केही दिन अघि एक पत्रकार मित्रले फोनमा लघुवित्तको बिषयमा जिज्ञासा पोख्नुभयो । कुराकानीका क्रममा ‘बिना धितो लगानी हुन्छ’ भनेर भनेपछि उहाँले बिना धितो र सामुहिक जमानीमा कर्जा कारोबार गर्छ भन्ने कुरा बल्ल थाहा पाए भन्नुभो । एक अर्का मित्रले त ‘बिना धितो कर्जा दिएपछि कहाँ असुल हुन्छ त’ समेत भन्न भ्याउनुभयो । यो उहाँहरुको कमजोरी थिएन । कमजोरी हामीहरुकै थियो जसले लघुवित्त कार्यक्रम लागु र संचालन गरेका छौ । त्यसैले आम जनता र समाजका हरेक अवयवहरुलाई लघुवित्तको बारेमा प्रष्ट जानकारी दिएर मात्र आजको नकारात्मक चर्चा र लघुवित्त बारेको भ्रमलाई चिर्न सकिन्छ ।  

    कसरी फैलन्छ त लघुवित्तीय साक्षरता

    कुनै पनि बिषयलाई बुझ्न सबैभन्दा पहिले त्यसको अवधारणा बुझ्नुपर्छ । हाम्रो सबैभन्दा ठूलो कमजोरी नै यही रह्यो कि हामीले लघुवित्तको अवधारणालाई व्यापक रुपमा समाजमा सम्प्रेषण गर्न सकेनौ । लघुवित्तको अवधारणालाई सबैको माझ परिचित गराउने, व्यवस्थित गर्ने र दिगोपनका बारेमा योजना बनाएर काम गर्ने दायित्व यसका सरोकारवालाहरुकै हो । राज्य, नियमन गर्ने निकाय, शेयरधनीहरु, कर्मचारीहरु आदि पक्षले यस बिषयलाई गम्भिरतापूर्वक लिएर काम गर्ने हो भने मात्र लघुवित्तको महत्व र आवश्यकता सबैलाई बुझाउन सकिन्छ । 

    कुनै पनि क्षेत्र तब समृद्द बन्छ जब त्यस बिषयमा प्रर्याप्त साहित्य लेखिन्छ । सबल र दुर्बल पक्षको बारेमा प्रर्याप्त चर्चा परिचर्चा हुन्छ । गहन खोज र अनुसन्धान हुन्छ । जुन लघुवित्त क्षेत्रमा अत्यन्तै कम भएको पाइन्छ । केही एकेडेमीक रुपमा भएका अनुसन्धान (पिएचडी, एमफिल र स्नातकोत्तर थेसिस) बाहेक लघुवित्तका बारेमा स्वतन्त्र अनुसन्धान एकदमै कम छन् । यसका बारेमा पत्रपत्रिकामा कमै लेखिन्छन् । भिडियोहरु कम बन्छन् । अन्र्तवार्ताहरु कम आउँछन् । टेलिभिजन कार्यक्रम त शुन्य प्राय नै छन् । सफलताका कथाहरु पत्रपत्रिकामा प्रकाशित हुदैनन् । यसका बारेमा कथा, कविता, उपन्यास, संस्मरण तथा गीत संगीत त औलामा गन्नै सकिने अवस्थामा छन् । अनि कसरी आम जनताका सामू पुग्छ लघुवित्त । यस बिषयमा सरोकारवालाहरु गम्भिर हुनुपर्छ ।  

    लघुवित्त एउटा सामाजिक बैंकिङ्ग हो । यसमा आउने उतारचढावको आयाम विविध हुन्छन् । यसलाई समयानुकुल विकास गर्न सकिएन भने यसले आफूलाई बचाउन सक्दैन । त्यसैले पनि यस क्षेत्रमा अध्ययन, अनुसन्धान र खोजको ठूलो महत्व हुन्छ । लघुवित्त कार्यक्रम कता जादैछ? लघुवित्तको प्रभावकारिता कस्तो रहेको छ? कस्ता समस्याहरु देखा परिरहेका छन्? यसले समाजका कुन कुन क्षेत्रमा योगदान गर्न सकेको छ? विद्यमान नीतिहरुमा थप परिमार्जन गर्न आवश्यक छ कि छैन? समयानुकुल कसरी बनाउन सकिन्छ? कस्ता कस्ता नितीहरुको आवश्यकता रहेको छ? नयाँ नयाँ मोडेलहरुको विकास कसरी गर्न सकिन्छ? आदि लघुवित्तका विविध आयामहरुमा अनुसन्धान हुन सक्यो भने मात्र माथिका प्रश्नहरुको उत्तर पाउन सकिन्छ । अनुसन्धानका निष्कर्षहरुले नै हो कुनै पनि क्षेत्रलाई अगाडि बढाउने । त्यसैले लघुवित्तमा प्रर्याप्त मात्रामा अध्ययन, अनुसन्धानका कामलाई अगाडि बढाउनुपर्छ । 

    त्यसैगरी लघुवित्तसंग सम्बन्धित अन्य साहित्य लेखनका लागि पहल गर्नुपर्छ । त्यस्ता साहित्य लेख्नका लागि कार्यक्रमहरु ल्याउने, लेख्नेलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने आदि कामहरु गर्न सकिन्छ । सबैभन्दा पहिले नियमित रुपमा बुलेटिन निकाल्नुपर्छ । हाम्रो बिडम्बना नै मान्नुपर्छ लघुवित्तमा के भईरहेछ, संसारभर कस्ता कस्ता अभ्यासहरु भईरहेका छन् भन्ने जान्नका लागि आज हामीसंग एउटा बुलेटिन पनि छैन । एउटा बेग्लै अनलाइन पत्रिका छैन । त्यसैगरी श्रव्यदृश्य सामाग्रीहरुको प्रर्याप्त उत्पादन गर्नुपर्छ । टेलिभिजनमा नियमित रुपमा कार्यक्रम संचालन गर्नुपर्छ । युट्युव च्यानलहरु संचालन गर्नुपर्छ । टिकटक, फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालहरुबाट प्रर्याप्त मात्रामा सफलताका कथाहरु सम्प्रेषण गर्नुपर्छ । यसो गर्दा के हुन्छ त?  

    लघुवित्तीय साक्षरता र सकारात्मक चर्चा बिच सम्बन्ध

    यसरी लघुवित्तका हरेक गतिविधीहरुलाई आमसञ्चार मार्फत् सार्वजनिक गर्दा त्यो आम जनताको सम्पत्ति बन्न  पुग्छ । यसले गरेका सकारात्मक योगदानहरुको संरक्षण र विस्तार हुदै जान्छ । लघुवित्तले गरेका राम्रा मात्रै होइनन् विकृतिहरुका कुराहरु पनि बाहिर आउँछन् । त्यसले समाजका सबै पक्षलाई जागरुक बनाउँछ । लघुवित्त क्षेत्र आफ्नो मूल्य मान्यता अनुसार चलेको छ कि छैन? यसमा कस्ता विकृतिहरु देखा परिरहेका छन्? आदिको बारेमा आम जनताहरु सचेत हुन्छन् । ‘ए यो त यस्तो बिषय रहेछ’ भनेर जनताहरुले खबरदारी गरिरहन्छन् । जसले गर्दा सम्बन्धित निकायहरु समयमा नै विकृतिका विरुद्धमा कदमहरु चाल्न बाध्य हुन्छन् । समस्याहरुको समयमै सम्बोधन भएपछि नकारात्मकताको घनत्व अहिलेको जस्तो रहने कुरै हुदैन । जसले गर्दा लघुवित्तको दिगोपनामा ठूलो योगदान पुग्छ । अर्को कुरा लघुवित्त कार्यक्रमलाई दुरदराजका जनताहरुसमक्ष पु¥याएर यसको लक्ष्य हासिल गर्नमा समेत ठुलो सहयोग पुग्छ । 

    लघुवित्त दिवसको आवश्यकता

    संसारभर दिवसलाई साक्षरता वृद्धिको औजारको रुपमा प्रयोग गर्ने चलन छ । हामीले पनि लघुवित्तीय साक्षरतामा काम गर्ने हो भने बर्षको एक दिन लघुवित्त दिवस मनाउनुपर्छ । लघुवित्तको साक्षरता अभिवृद्धि गर्ने, मूल्य मान्यताबाट बिचलित हुनबाट रोक्ने तथा लघुवित्तको महत्व र प्रतिष्ठा कायम राख्न सक्ने एउटा औजारको रुपमा लघुवित्त दिवसलाई प्रयोग गर्न सकिन्छ । आज नियामक निकाय, सरोकारवाला तथा आम जनतामा लघुवित्तलाई कि त बैंकहरु कि त सहकारीहरु जस्तै ठान्ने प्रवृत्ति छ । राज्यका निती, कार्यप्रणाली तथा बुझाईमा त्यो प्रष्ट देखिन्छ । जबकी लघुवित्त यि दुवै भन्दा धेरै फरक बिषय हो । यो कुरा बुझ्न र बुझाउन पनि लघुवित्त दिवसको आवश्कता टड्कारो देखिएको छ । त्यसैले म यसै लेख मार्फत् लघुवित्त दिवस घोषणा गर्नका लागि सरकार समक्ष माग गर्न चाहन्छु । यसको पहलका लागि सरोकारवालाहरु समक्ष आग्रह तथा प्रस्ताव गर्न चाहन्छु ।

    अन्त्यमा, अहिले लघुवित्तमा देखिएका तमाम समस्याहरुको समाधान लघुवित्तीय साक्षरता र लघुवित्त दिवस हो भनेर भन्न खोजिएको होइन । अन्य बिषयहरुलाई अन्य लेखहरुमा समेटदै जाने नै छु । यस लेखलाई लघुवित्त सुधारको वहसमा एउटा प्रस्थानविन्दुको रुपमा अगाडि सारिएको हो । एउटा भनाई नै छ, ‘परिवर्तन भनेको साना साना कामहरु गरेर नै आउँछ ।’ म यही भनाई सापट लिएर भन्छु, लघुवित्तलाई सुधार गर्ने र यसको दिगोपनाको बारेमा सोच्ने हो भने हामीले साना साना कामहरु गर्नुपर्ने हुन्छ जसले लघुवित्तलाई अझ समृद्ध, सुदृढ र व्यापक बनाउन सकोस् । त्यसैले एउटा लघुवित्तकर्मी तथा अध्येताको नाताले म सम्बद्ध सबै पक्षहरुलाई आव्हान गर्दछु कि अब पनि हामीले नचेत्ने हो भने न लघुवित्त रहन्छ र न यसका सकारात्मक प्रभावहरु । त्यसैले हामीले सबैभन्दा पहिला आफ्ना कमीकमजोरीहरु स्वीकार गरौ । त्यसपछी सुधार गरौ । लघुवित्तको मूल्य मान्यताको बारेमा अरुलाई बताउन बिर्सिदा हामी आफै पनि बिर्सिदै गयौ भन्ने तितो सत्यलाई स्वीकार गर्दै त्यसमाथी काम गर्ने हो भने लघुवित्त क्षेत्र गरिबी निवारणको महत्वपूर्ण अस्त्र बन्न सफल हुनेमा कुरामा कुनै दुई मत नै छैन । 

    लेखक विनोद उदय (binodpandey510@gmail.com) अधिवक्ता तथा लघुवित्त अध्ययन केन्द्रका अध्यक्ष हुन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुवित्तीय साक्षरता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।