राजेश पराजुली, गण्डकी प्रदेश । चितवन र यसको आसपासको वन क्षेत्रमा फैलिएको डढेलोका कारण चितवनको जनजीवन प्रभावित भएको छ। धुवाँ र धुलोका कारण आँखा पोल्ने अवस्थाले हिँडडुल गर्न समेत कठिनाइ हुन थालेको छ । हवाई उडान प्रभावित भएका छन्।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार गत २०७९ फागुन २५ गतेदेखि सुरु भएको आगलागीले एकाएक यतिबेला जिल्लाको सम्पूर्ण क्षेत्र ओगटेको छ । पछिल्लो तथ्याङ्क दोब्बर मात्र होइन तेब्बरभन्दा बढी भइसकेको हुन सक्ने अनुमान लगाउँदै कार्यालयका सूचना अधिकारी खनालले हामीसँग आधिकारिक तथ्याङ्क आइपुगेको छैन तर हामीले पाएको सूचनाका आधारमा यतिबेला जिल्लाका प्रत्येक सामुदायिक वनमा डढेलो देखिएको छ । खडेरी र हावाहुरीका कारण डढेलो तीव्र गतिमा फैलिरहेको उनले बताए ।
गत फागुन २५ देखि चैत १३ गतेसम्म चितवनका ३९ वटा सामुदायिक वनमा दुई हजार ८९९ हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ। यो अवधिमा सरकारद्वारा व्यवस्थित वन क्षेत्रको मात्र एक हजार १५० हेक्टर वन डढेलोले सखाप पारेको छ।
निकुञ्जको १७ ठाउँमा डढेलो
सामुदायिक वन मात्र होइन ९५२ दशमलव ६३ वर्गकिलोमिटर क्षेत्रफल रहेको चितवन राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र चितवनमा पर्छ। निकुञ्ज अनि त्यसको बरन्डाभार क्षेत्र अर्थात् मध्यवर्ती सामुदायिक वन पनि यतिबेला डढेलोको चपेटामा छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले वैशाख महिना लागेयता निकुञ्जको धेरै क्षेत्रमा आगो लागेको भेटिएको जानकारी दिए। वैशाख ४ गते अन्तिम पटक गरिएको रेकर्डमा निकुञ्जको १७ स्थानमा आगलागी भएको छ। आगलागीबाट बढी क्षति नहोस् भन्ने उद्देश्यले फायर लाइन क्लियर गरेर फैलावट रोक्ने काम भएको र केही ठाउँमा भने निभाउने काम भइरहेको उनले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology