देवदह । लुम्बिनी प्रदेश सभाका पुर्व सदस्य दिपा विकले राज्यले संचार क्षेत्रमा गरेको लगानी खेर नजाने बताएकी छन्। देवदह प्रेस क्लबद्वारा आयोजित एक हप्ते आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै पुर्वसांसद विकले राज्यको चौंथो अंगको रूपमा रहेको संचार जगतको व्यवस्थित विकासमा राज्यको ध्यान पुग्न पर्नेमा जोड दिईन।
पत्रकारिताको महत्वबारे धारणा राख्दै पुर्व सांसद विकले राम्रोसंग संचार क्षेत्रले काम गर्नसके सुशासन कायम हुने बताईन। "आज पनि हामीले भ्रष्टाचार र अनियमितता तथा समाजमा लुकाईएका विषयमा आवाज विहिनको आवाज बनेर लेख्न र बोल्न सकिरहेका छैनौं" उनले भनिन, "मिडियाले विषयहरू उजागर गर्यो भने राज्यका अन्य अंगहरू पनि काम गर्न बाध्य हुन्छन।"
आफु गत कार्यकालमा प्रदेश सभा सदस्य रहंदा देवदह नगरक्षेत्रका योजनामा मात्रै ६ करोड बराबरको बजेट प्रदेश सरकारबाट व्यवस्थापन गरेको उल्लेख गर्दै विकले जनप्रतिनिधीहरूले हल्ला काम र काम बढी गर्नुपर्ने बताईन।
सोहि कार्यक्रममा बोल्दै पत्रकारहरू पवन पौडेल, रमेश पोख्रेल, प्रदिप भट्टराई लगायतले प्रशिक्षार्थीलाई आफुले सिकेको कुरा व्यवहारमा लागु गर्न सुझाब दिए। तालिम आयोजक संस्थाले समेत आफुले सिकाएका प्रशिक्षार्थीलाई संचार माध्यममा जिम्मेबारी दिन पहल गर्नुपर्ने धारणा राख्दै उनीहरूले तालिमले देवदहको पत्रकारितामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
प्रशिक्षार्थीको तर्फबाट आफुले सिकेको कुराहरू बारे बोल्दै प्रशिक्षार्थीद्वय अनुभवी शर्मा र सागर भुसालले संचारको अर्थ र महत्वदेखि समाचार संकलन हुँदै समाचार सम्पादन र पत्रकार आचारसंहिताबारे तालिममा दिईएका प्रशिक्षणबाट आफूहरूले ज्ञान हासिल गरेको बताए। समाचार कसरी बन्ने रहेछ, समाचार संकलनदेखि सम्पादन हुँदै प्रशारण/प्रकाशन र त्यसपश्चात पनि आउने चुनौतीबारे तालिममा बुझेको बताउंदै उनीहरूले आफुले सिकेको कुरालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैशाख २३ देखि २९ सम्म संचालन भएको उक्त तालिममा ६२ जना प्रशिक्षार्थी सहभागी भएको र ४२ सेशनमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिईएको तालिम संयोजक रमेश पोख्रेलले जानकारी दिए। प्रशिक्षणमा सहभागीहरूलाई देवदहका विभिन्न मिडिया हाउसहरूले रोजगार दिने प्रतिबद्धता समेत जनाएको संयोजक पोख्रेलको भनाई छ।
तालिमको समापन सत्रको अध्यक्षता देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न तालिमको समापन सत्रमा क्लबका सचिव निर्मल थापाको संचालन रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology