पाल्पा । उनी लघुवित्तकी सदस्य हुन्, यसो भन्दा उनलाई गर्व महशुस हुन्छ । उनी अर्थात् पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९, टिन्टीआँपकी स्थायी बासिन्दा कमलादेवी कार्की । उनले अहिले जताततै लघुवित्तको बारेमा आएका नकारात्मक टिप्पणी सुनेकी छन् । यस्तो सुन्दा उनलाई खासै अचम्म लागेको छैन किनभने उनले यस अघि पनि यस्ता टिप्पणीहरु सुन्दै आएकी हुन् ।
करिब २० बर्ष अघिको समाज । धितो नहुनेहरुको लागि आर्थिक उपार्जनका लागि लगानी गरौ भन्ने चाहना भयो भने जाने एउटै विकल्प थियो, स्थानीय साहुमहाजनहरु । उनीहरुले लगाउने ब्याज चर्को थियो । बार्षिक ३६ प्रतिशतदेखि ४८ प्रतिशतसम्म ब्याज तिर्नु पर्र्थ्यो । कतिपयले त ६० प्रतिशतसम्म पनि तिर्थे । यस्तो ब्याज साहुमहाजनहरुले मान्छे, उसको जायजेथा, उसको शिक्षा तथा उसको जरुरत हेरेर लगाउँथे । कमलादेवी र उनका श्रीमान् श्याम बहादुर कार्कीले जीविकोपार्जनका लागि सानो होटेल व्यवसाय संचालन गरेका थिए । उक्त व्यवसायलाई थप लगानी आवश्यक थियो ।
त्यसै क्रममा वि. सं. २०६२ सालमा एउटा लघुवित्त संस्थाको बारेमा उनीहरूले थाहा पाए । संस्थाका कर्मचारीहरुसंग बुझ्दा बिना धितो कर्जा दिने, कर्जा नचाहिनेले बचत गर्ने तर त्यसका लागि समुह बनाउनुपर्ने, सोही समुहले कर्जा कसलाई कति दिने भन्ने निर्णय गर्ने, समुह नै जमानीमा बस्ने, कर्जाको असुल पनि समुहले नै गर्ने, कसैको कर्जा असुल नभए समुहले नै तिनुपर्ने आदि नियमहरुको बारेमा पनि थाहा पाए । समुहमा महिलाहरुलाई आबद्ध गर्नुपर्ने, समुहको वैठक मासिक रुपमा बस्नुपर्ने, कर्जाको किस्ता र बचत उठाउनुपर्ने आदि नियमहरु थाहा पाएपछि उनले घरमा श्रीमान्संग सल्लाह गरिन् । बिना धितो कर्जा पाइने र ब्याज पनि सस्तो हुने, मासिक रुपमा किस्ता तिरेर कर्जा घटाउन सजिलो हुने आदि कारणले उनाका श्रीमान् समुहमा आबद्ध हुन सजिलै सहमत भए । उनीजस्ता अन्य केही महिलाहरु मिलेर समुह बनाए । कमलादेवी त्यतिबेलाको कुरा सम्झदै भन्छिन्, “लघुवित्त संस्थाका कर्मचारीहरुले ७ दिनसम्म तालिम दिनुभयो, कसरी समुह संचालन गर्ने, कसरी कर्जा माग गर्ने, कसरी असुल गर्ने, कर्जाको सदुपयोग कसरी गर्ने, आम्दानी र खर्चको तालमेल मिलाएर कसरी बचत गर्ने आदि सिकाउनुभयो । त्यसपछि शाखा प्रमुख आएर समुहलाई मान्यता दिनुभयो ।” समुह बनाएपछि त्यसबाट ४० हजार रुपैयाँ कर्जा लिएर होटलमा लगानी थपेको र होटेल राम्रोसंग चलाएर नियमित किस्ता तिरेको कुरा उनलाई अहिलेपनि सम्झना छ ।
उक्त समुह मार्फत उनले धेरैपटक कर्जा निकालिन् । समयमै भुक्तानी गरिन् । वि. सं. २०७४ सालमा उनले होटेल हटाएर किराना पसल संचालन गर्ने योजना बनाइन । एउटा लघुवित्त संस्थाले मात्र उनको आवश्यकता पुरा गर्न सकेन । उनले अर्को लघुवित्त संस्थामा साथीहरुसंग मिलेर समुह बनाईन । त्यसबाट पनि कर्जा लिएर किराना पसल सुरू गरिन् । दुवै संस्थाको कर्जा नियमित तिरेर उनले कर्जा सिध्याइन । हाल उनको लघुवित्त संस्थामा कर्जा छैन । तर नियमित रुपमा बचत गरिरहेकी छन् । उनि भन्छिन्, “अहिले कर्जाको आवश्यकता छैन । आवश्यकता पर्यो भने लिन पाइयो । घर खर्च किराना पसलबाट चलिरहेको छ ।” आफ्नै घरमा संचालित किराना पसलबाट उनले खाद्यान्न, तरकारी र ग्यास भर्ने आदि सेवा दिईरहेको देख्न सकिन्छ ।
"वित्तीय संस्थाहरु नआउँदाको समयमा आफुलाई आवश्यक परेको रकम साहुमहाजनहरुबाट लिन पर्थ्यो । चर्को ब्याज असुल्थे । त्यसमा पनि उनीहरुको चाकरी गरेन भने पाइदैनथ्यो ।" कुराकानीका क्रममा उनी वि. सं. २०४४ सालमा पुगिन्,- “त्यतिबेला हामीलाई पैसाको साह्रै खाँचो थियो । पैसा खोज्दा कतै पाइएन । जग्गा नै बेच्नुपर्यो । २ रोपनी ४ आना जग्गा कौडीको भाउमा दियौ । २० हजार पर्ने जग्गालाई पाँच हजारमा दिएको आज जस्तै लाग्छ ।” अहिले त्यस्तो समस्या नभएको र वित्तीय संस्थाहरुकै कारण आफुजस्ता मानिसहरु साहुमहाजनहरुको चङ्गुलबाट उम्कन सकेको उनको बुझाई छ ।
“अहिले चर्चा भए जस्तो धेरै लघुवित्तमा बस्नुभएको रहेनछ त? अरु संस्थाका कर्मचारीहरु आउनुभएन?” हाम्रो प्रश्न खस्न नपाउँदै उनले भनिन्, “आफ्नो संस्थाको बारेमा सबैले प्रचार गर्न पाए, तर आपफ्लूाई कति पैसा चाहिन्छ, कतिमा बचत गर्न सक्छु, कति कर्जा तिर्न सक्छु, के का लागि कर्जा लिने भन्ने कुरा त आफैलाई थाहा हुनुपर्यो नि । आफुले सहीछाप गरेर पैसा लिने, फजुल खर्च गर्ने अनि अरुलाई दोष दिएर हुन्छ त? आउन त धेरै संस्थाका सरमेडमहरु आउनुभयो तर हामी बसेनौ । हाम्रो समुहमा अनावश्यक कर्जा लिएर फजुल खर्च गर्ने कोही पनि हुनुहुन्न । सबैले सदुपयोग नै गर्नुभएको छ । चाहिए मात्र निकाल्नुहुन्छ ।” लघुवित्त संस्थाहरुले गर्दा नै आफु जस्ता महिलाहरुको हातमा वित्तीय पहुँच पुगेको उनको भनाई छ । “पहिले श्रीमान्ले मात्र कारोबार गर्नुहुन्थ्यो । अहिले हामी सल्लाह गरेर कारोबार गर्छौ ।” घरमा सल्लाह गरेर लेनदेन गर्यो भने अनावश्यक खर्च नहुने र कर्जा तिर्न समस्या नहुने उनको अनुभव छ । यसमा उनाका श्रीमान् श्याम बहादुर कार्की पनि खुसी छन् ।
“अहिले हामीसंग चाहिएको बेलामा कुनै पनि धितो नराखीकन कर्जा दिने संस्था छ, थोरै थोरै रकम बचत गरेका छौ । चाहिएको बेलामा बचत पनि निकालेका छौ । गाउँघरमै आएर बचत र किस्ता असुल गरिदिनुहुन्छ । बैंकमा त हाम्रो दुई चार सय रुपैया बचत गर्न पनि गाह्रो छ । त्यति बचत गर्न को जान्छ बजार? बैंक हाम्रो घरमा आउदैन । लघुवित्तका सरमेडमहरुले त दु:ख बिमार हुँदा बचत पनि घरमै आएर दिनुहुन्छ । यो भन्दा सजिलो के चाहियो र हामीलाई । त्यसैले त मलाई म लघुवित्तको सदस्य हुँ भन्दा गर्व महशुस हुन्छ ।” एकोहोरो बोल्दै उनी भन्छिन्, “सर यो जम्मै कुरा लेखिदिनुहोला । जथाभावी रुपैँया चलाउनेलाई सुनाईदिनुहोला ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology