रुपन्देही। बुटवल उपमहानगरपालिकाको आयोजनामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला हुनेभएको छ। यही असार १३ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म कालिकानगरको महाराजा रिर्सोटमा मेला आयोजना हुनेछ ।
मेला संयोजक तथा बुटवल उपमहानगरपालिका–४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले मेलाको तयारी तिब्र पारिएको जानकारी दिए । करिव पाँच हजार जना मानिसको सहभागिता रहने आयोजकको दावी छ । मेलामा ३० वटा विभिन्न रोजगार प्रदायक संस्थाहरुको स्टल रहने बताइएको छ ।
नेपाल सरकार तथा स्वीजरल्याण्ड सरकारको द्वीपक्षीय परियोजना दिगो तथा सम्मानित रोजगारीका लागि सिप–दोस्रो चरणको सहयोगमा एक दिने मेला आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगारसम्बन्धी परासर्म तथा सूचना दिने, सीपमुलक तालिम दिने संस्थाको प्रदर्शनी तथा तालिमबारेमा सूचना दिने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराई रोजगारीको अवसर सिर्जना हुने अपेक्षा लिइएको छ ।
३ लाख ५० हजार रुपियाँ खर्च अनुमान गरिएको सबै खर्च परियोजनाले नै व्यहोर्ने आयोजकको भनाइ छ । मेलाबाट आएको रोजगारीको अपेक्षाअनुसारको रोजगार पोर्टल नै बनाएर सोहीअनुसारको रोजगारी सिर्जनामा नगरपालिका लागिरहेको मेला संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिए।
नेपालमा अहिले पनि टायल, मार्वल, फनिर्चर, प्रेसरकुकरलगायतका विभिन्न उद्योगमा भारतीय कामदारको बाक्लो उपस्थिति रहेको भन्दै मेलापश्चात् तालिम समेत आयोजना गरिने बताए । मेलाको नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गर्नुहुने आयोजकको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology