Logo

२०८३, श्रावण ३०गते


images
images

साहित्य

देवदहको साहित्य र अबको बाटो

देवदहको साहित्य र अबको बाटो

images
  • देवदहको साहित्य र अबको बाटो
    images
    images

    पछिल्लो एक दशकमा देवदहले साहित्यमा एक किसिमको परिचय बनाईसकेको छ, पातलै भएपनि । यसलाई अझ घनिभूत बनाउन सकिन्छ/पर्छ तर धेरै कामहरु गर्नुपर्नेछ हामीले । भाषा, कला, संस्कृति र साहित्यको विकास रातारात हुने विकास होइन । यसले समय त लिन्छ नै तर हामीले त्यसमाथी निरन्तर रुपमा कामहरु गर्नुपर्ने हुन्छ ।

    images
    images
    images

    हाल देवदहमा युगीन साहित्य समाज र अनुराग साहित्य समाजले विशुद्ध साहित्यिक गतिविधीहरु गरिरहेका छन् भने उज्यालो लालटिन प्रतिष्ठान नामक सामाजिक संस्थाले पनि साहित्यिक गतिविधीहरु गरिरहेको छ । यसर्थ देवदहमा साहित्यिक गतिविधीहरुको खासै कमी छैन । तर हामीले साहित्यिक गतिविधीहरुलाई मात्रै साहित्यिक विकाससंग जोडेर हेर्न थाल्यौ भने हामी सरासर गलत हुन्छौ । किनभने कुनै पनि क्षेत्रको विकासलाई त्यसको मात्रात्मक वृद्धिमा मात्रै हेर्नु अपूर्ण हुन्छ, गुणात्मक वृद्धि पनि संगसंगै जानु आवश्यक हुन्छ । अझ साहित्यिक गतिविधीहरु मात्रै भनेर पनि भएन  ‘कस्ता साहित्यिक गतिविधीहरु?’ भन्ने प्रश्न अहम प्रश्न हो । मैले यस आलेख मार्फत् विगत तिर भन्दा भविष्य तिर जान खोजेको छु । त्यसैले आउनुस्, अबको देवदहको साहित्यको उन्नयनका लागि हामीले वहन गर्नुपर्ने केही दायित्वहरुको बारेमा विमर्श गरौ । 

    images
    images
    images

    लेखन, लेखन र लेखन

    हामीले जतिसुकै साहित्यिक गतिविधीहरु गरौ लेखन भएन भने त्यस्तो साहित्यिक विकास लामो समयसम्म जादैन । साहित्यको मुख्य कुरा नै लेखन हो । लेखेरै हो साहित्यको सेवा गर्ने । साहित्यिक गतिविधीहरु त पूरक मात्रै हुन् । त्यसैले हामीले जतिसक्दो लेख्नु नै पर्दछ । लेख्नु र प्रकाशन गर्नुले मात्रै साहित्यलाई दिर्घकालसम्म समृद्ध बनाउँछ । त्यसैले आउनुस् हामीले धेरै भन्दा धेरै लेखेरै देवदहको भाषा र साहित्यको सेवा गरौ ।

    images
    images
    images

    के लेख्ने?

    लेखेर मात्रै पनि हाम्रो दायित्व पुरा हुदैन । लेखनमा पनि कस्तो लेखन? अर्को अहम प्रश्न हो । लेख्ने त लेख्ने, के लेख्ने? यो मुख्य कुरा रहेछ/हो । साहित्यमा देवदहलाई कसरी प्रतिबिम्बित गर्ने? देवदहको विविधतालाई कसरी समेट्ने? देवदहका स्थानीय बिषयहरुलाई कसरी वैश्विक दृष्टिकोण प्रदान गर्ने? उठान गर्न बाँकी तमाम बिषय र विचारहरुलाई कसरी उठान गर्ने? खासगरी लेखेर देवदहलाई के दिने? लेख्नेहरु लेखक मात्रै भईटोपल्ने कि साँच्चिकै समाजलाई केही योगदान पनि दिने? यि बिषयहरुमा यहाँका लेखकहरुले प्रर्याप्त चिन्तन गर्ने र सोही अनुरुप लेख्ने हो भने मात्रै हामीले यहाँको साहित्यलाई वास्तविक सेवा गरेको ठहर्छ । नत्र आत्मिक सन्तुष्टिका लागि मात्र र सधै उही क्लिशे बिषय र शैलीमा मात्र लेख्ने हो भने हाम्रो साहित्य भुत्ते त हुन्छ नै हामीलाई ईतिहासले सधै प्रश्नको कठघरामा उभ्याईरहनेछ । त्यसैले हामीले लेख्ने बिषयको आयतनलाई फराकिलो बनाएर विविध बिषयमा फैलाउन सक्यौ भने हाम्रो साहित्यले चिनारी र समृद्धि दुवै पाउनेछ । जस्तो कि यहाँको पर्यटन, वातावरण संरक्षण, शिक्षा, आर्थिक बिषमता र असमानता, राजनिती, पत्रकारिता, जातीय र भाषिक विविधता, नदी दोहन, कालोबजारी, गुण्डागर्दी, अपराध, आदिवासी, दलित, महिला, अल्पसंख्यक आदि अनेक बिषयमा कलम चलाउनुपर्ने कुरामा यहाँका लेखकहरुले दायित्वबोध गर्नुपर्दछ ।    

    कसका लागि लेख्ने?

    के लेख्ने पछि कस्का लागि लेख्ने? यो पनि कम गम्भिर सवाल होइन । सत्ता र शक्तिमा हुनेहरुको चाप्लुसीका लागि लेख्ने कि आवाज नहुनेहरुको आवाज बनेर लेख्ने? यसमा देवदहका लेखकहरुले गम्भिर चिन्तन र मनन गर्नु आवश्यक छ । चाप्लुसी र चाकडीका रचनाहरुले साहित्यको सेवा कदापी गर्दैन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ । अनि मात्रै हामीले हाम्रो क्षेत्र र साहित्यको श्रीवृद्धि गर्न र इज्जत राख्न सक्छौ । यो कुरा म अलि बढी जोड दिएर नै भन्छु किनकि हामी कहाँ उपलब्ध केही लेखकहरुले लेखकिय मर्यादा र दायित्वबोध गरेको कमै देख्न पाइन्छ । लेखक जहिले प्रतिपक्षी हुन्छ भन्ने मान्यतालाई स्वीकार गरेर सधै सत्ता र शक्तिलाई प्रश्न मार्फत् खबरदारी गर्ने, अवसर र पहुँचका हिसाबले पिँधमा रहेका जनताहरुका लागि लेख्ने र अन्यायका विरुद्धमा लाभहानीको हिसाब नगरी लेख्नु नै देवदहका लेखकहरुको आजको मुख्य कार्यभार हो ।

    लेखन अनुरुपको आचरण

    युगीन साहित्य समाजको संस्थापक बनेर धेरै गतिविधीहरु र अभियानहरुको नेतृत्व गरेको अनुभवको आधारमा मैले यत्ति त भन्न सक्छु कि हाम्रो लेखन र व्यवहारमा धेरै अन्तर रहेको छ । लेखक भनेका समाजले विश्वास गर्ने लायकको बन्नुपर्छ । अरुलाई नैतिकता र ईमान्दारिताको पाठ सिकाउने लेखक स्वयम् कति नैतिक र ईमान्दार छ भनेर उसलाई समाजले नियालीरहेको हुन्छ । लेखक विश्वसनीय भए मात्रै उसका रचनाहरु प्रभावकारी हुन्छन् । त्यसैले लेखक आफू उदाहरण बन्न सक्ने हुनुपर्छ । लेखकको आचरण समाजका सबै तप्कालाई सकारात्मक रुपमा उत्प्रेरित गर्ने खालको हुनुपर्छ । समग्रमा भन्नुपर्दा लेखक समाजको रोलमोडल बन्नुपर्छ ।

    विविध भाषामा लेखौ

    एउटै भाषामा मात्रै लेखेर यहाँको भाषा र साहित्यको विकास हुन सक्दैन । देवदहमा बोलिने विविध भाषाहरुमा साहित्य लेख्यौ भने मात्र हाम्रो भाषा र साहित्य समृद्ध बन्न सक्छ । स्वभावैले आफ्नो संस्कृति र रहनसहन झल्किने गरि आफ्नै भाषामा लेखिने साहित्यमा अपनत्व महसुस हुने हुँदा जति सक्दो धेरै भाषामा लेख्यौ भने सिमान्तकृत र लोपोन्मुख सभ्यताको संरक्षण संगसंगै भाषा र साहित्यको उन्नयन हुनेछ । यहाँ बोलिने भाषामा मात्रै नभएर अङ्ग्रेजी भाषामा पनि लेख्यौ भने हाम्रा बिषयहरु र विचारहरुको आयतन फराकिलो हुन सक्छ । त्यसैले विविध भाषामा लेखौ ।   

    अनुवाद साहित्य

    देवदहमा अनुवाद साहित्यमा काम हुन सकेको छैन । यहाँको साहित्य बाहिर जान सकोस् र बाहिरको साहित्य यहाँ आउन सकोस् । त्यसको लागि अनुवाद गर्नु आवश्यक छ । देवदहमा प्राज्ञिक र साहित्यिक क्षमता भएका व्यक्तित्वहरु नभएको होइन । उहाँहरुलाई सरोकारवालाहरुले प्रोत्साहन गर्नु र घच्घच्याउनु पर्नेछ । अनुवाद साहित्यले देवदहको साहित्यलाई प्रशस्त योगदान दिन सक्नेछ ।

    साहित्यलाई पर्यटनसंग जोड्नु आवश्यक छ

    देवदह पुरातात्विक तथा पर्यटकिय स्थल भएकोले यहाँको साहित्यलाई पर्यटनसंग जोड्नु आवश्यक छ । साहित्यका विविध विधामा यहाँको पुरातात्विक तथा पर्यटकिय महत्वको बारेमा लेखेर, विभिन्न साहित्यिक महोत्सवहरु आयोजना गरेर, देश विदेशका लेखक तथा कलाकारहरुलाई पर्यटकका रुपमा ल्याएर तथा विभिन्न अध्ययन अनुसन्धानहरु गरेर पर्यटन र साहित्यलाई जोड्न सकिन्छ । यसरी विकसित, सभ्य र सुन्दर देवदहका लागि साहित्यले भूमिका खेल्न सक्ने देखिन्छ । 

    पठन संस्कृतिको विकास

    हामीले गर्नुपर्ने धेरै कामहरु मध्ये पठन संस्कृतिको विकास पनि एक मुख्य काम हो । जुन सूचकमा हाम्रो प्रगति निराशाजनक छ । पठन संस्कृतिलाई मलजल गर्न विगतमा रिडर्स क्लबको स्थापना गरिएकै हो तर त्यसले कुनै काम गर्न सकेन । यो पंक्तिकारले ‘पाठक संवाद’ भन्ने स्तम्भ लेखेको पनि हो, कन्चन दर्पण साप्ताहिक र उज्यालो लालटिन अनलाइनमा । तीन अंक लेखेपछि यो स्तम्भ पनि बन्द गरिेयो । यि दुई दृष्टान्तबाट देवदहको पठन संस्कृति बुझ्न सहयोग मिल्छ भनेर सप्रसंग उल्लेख गरिएको हो । पठन संस्कृतिको विकासमा मुख्य भूमिका रहने ‘पुस्तकालय’ आजको हाम्रो आवश्यकता हो । यस तर्फ सरोकारवालाहरुले समयमै ध्यान दिनु आवश्यक छ । देवदहमा एउटा गतिलो पुस्तकालय नहुनु लाजमर्दो नै हो । आजको समयमा पुस्तकालय अध्ययन गर्ने ठाँउ मात्रै होइन । यो आजको यान्त्रिकरणकोे युगमा सामाजिक अन्र्तक्रियाको गतिलो ‘पब्लिक स्पेस’ पनि हो । समाजलाई सभ्य र सुन्दर बनाउनमा हामीलाई पुस्तकालयहरुले ठुलो सहयोग गर्दछन् । त्यसै गरी पठन संस्कृतिको विकासका लागि नियमित रुपमा पुस्तक माथीका विमर्श कार्यक्रमहरुलाई घनिभूत रुपमा अगाडी बढाउनुपर्छ ।

    विभिन्न अभियानहरुको संचालन

    साहित्यमा नयाँ पुस्तालाई जोड्न सकिएन भने भविष्यको साहित्य कस्तो रहला? अनुमान गर्न सक्छौ । नयाँ पुस्तालाई कसरी जोड्ने त? युगीन साहित्य समाजले विगतमा चलाएको जस्तै ‘स्कुल–स्कुलमा युगीन’, ‘कलेज–कलेजमा युगीन’ जस्ता अभियानहरुलाई अझ परिमार्जित गरेर एउटा संस्थाले मात्रै नभएर समग्र देवदहले नै यस्ता अभियानहरु चलाउनुपर्छ । हामीले पालुवामा राम्रोसंग मलजल गर्न सक्यौ भने मात्र भविष्यमा त्यसले राम्रो फसल दिने हो । त्यसैले विभिन्न अभियान तथा कार्यक्रमहरु संचालन गरेर साहित्यलाई नयाँ पुस्ता माझ लैजानु अपरिहार्य छ । त्यसैगरी देशभित्र र सम्भव भएमा बिदेशका साहित्यिक संघसंस्थाहरुसंग भगिनी सम्बन्ध स्थापना गरी हाम्रो भाषा, साहित्य र संस्कृतिलाई थप व्यापक बनाउन सकिन्छ ।

    अध्ययन, अनुुन्धान र प्रकाशन

    भाषा र साहित्य तब समृद्ध बन्छ जब समाजका विभिन्न आयामहरुका बारेका विभिन्न किसिमका अध्ययन र अनुसन्धान भैरहन्छ र ति मानिसहरुका माझमा पुग्छ । त्यति मात्रै नभएर साहित्यकै विविध विधाहरुमा प्रर्याप्त अध्ययन हुन सकेको देखिदैन । प्राज्ञिक व्यक्तित्वहरु प्रशस्त भएको देवदहमा समालोचनामा काम हुन सकेको छैन । त्यसैगरी यहाँबाट नियमित र आवधिक रुपमा प्रकाशित हुने साहित्यिक पत्रपत्रिकाहरु पनि देखिदैन, त्यसैगरी डिजिटल प्रकाशनमा समेत राम्रोसँग ध्यान पुग्न सकेको छैन । त्यसैले यस तर्फ सरोकारवाला सबैले उचित पहल लिनुपर्छ ।

    क–कसको भूमिका रहन्छ

    देवदहको भाषा र साहित्यको श्रीवृद्धिका लागि देवदहका लेखकहरु तथा साहित्यिक संघसंस्थाहरु मात्रै नभएर देवदहको स्थानीय सरकार, शिक्षण संस्थाहरु, सामाजिक संघसंस्थाहरु, समाजसेवीहरु, बुद्धिजिवीहरु लगायत सबै तह र तप्का एकमनले लाग्नुपर्दछ । व्यवहारिक योजना बनाएर काम गर्दा हाम्रो साहित्य र ठाँउको गरिमा उचाईमा पुग्नेछ । आउनुस्, देवदहको भाषा र साहित्यको उन्नयनका लागि हामी देवदहबासी र देवदहप्रेमीहरुले वहन गर्नुपर्ने यि दायित्वहरुको बारेमा हामीले विमर्श गरौ, योजना बनाऔ र काम गरौ । हामीले प्राप्त गर्ने भन्दा पनि योगदान दिने नियतका साथ सबै मिलेर काम ग¥यौ भने हामीलाई ईतिहासले सधै धन्यवाद दिईरहनेछ, त्यो भन्दा ठूलो कुरा सभ्य र सुन्दर समाजका लागि हामीले केही भूमिका खेल्न पायौ भनेर हामीलाई ठूलो सन्तोष हुनेछ ।

    binodpandey510@gmail.com

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदहको साहित्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।