पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक युवाले आधुनिक शैलिमा बाख्रा पालन सुरु गरेका छन् । पालिकाको वडा नं. २ सर्देवाका निरज नेपालले बहुउद्देश्यीय पशु फार्म दर्ता गरि नश्ल सुधार सहितको योजनामा आधुनिक तरिकाले बाख्रा पालन सुरू गरेका हुन् ।
यातायात व्यवसायी निरज नेपाल र उनका दाजु नवीन नेपालले कोरोनाको कारण गरिएको लकडाउनमा यातायात व्यवसायबाट घाटा बेहोर्नु परेपछि तीन महिना अघि बाख्रा पालन सुरु गरेका हुन । लुम्बिनी प्रदेश सरकारको २ लाख अनुदान सहित कुल १२ लाखको लगानीमा सुरुभएको फर्ममा यतिबेला ३ बोयर र २ जमुनापारी सहित ३५ वटा बाख्रा छन् ।
"अहिले ३५ वटा बाख्रा छन्, निकट भविष्यमै १०० वटा बाख्रा पुर्याउने लक्ष्य राखिएको छ हेरौं सफल हुने गरि नै काम गरिएको छ" संचालकका दाजु नवीन नेपालले सेतोमसीसंग भने ।
रैनादेवी छहरा गाउँपालिकाकै नमुना फार्म बनाएको दावी गर्दै नेपालले बाख्रा मिसन कार्यक्रम अन्तर्गत काम गरिएको र बाख्राको नश्न सुधार गरि फरक तरिकाले व्यवसाय अगाडि बढाउने योजनामा काम भैरहेको बताए । फार्मले पाल्पाको तानेसेनस्थित पशु विज्ञ तथा भेटेनरी अस्पतालको प्राविधिक सहयोगमा काम गरिरहेको छ ।
स्नातक दोस्रो बर्षमा अध्ययन गर्दा गर्दै विचमै पढाई छोडेर बाख्रा पालन सुरु गरेका २० बर्षिय नेपालको उक्त फार्ममा हाल २ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । १५ रोपनी जग्गामा घाँस खेती समेत गरिएको उक्त फार्ममा घाँसकाट्ने मेसिन लगायतका मेसिनको समेत प्रयोग गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology