देवदह । देवदहमा आकस्मिक रूपमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १२१ जना रक्तदाताले रक्तदान गरेका छन्। बुटवल र आसपास क्षेत्रमा देखिएको रक्त अभावलाई पुर्ती गर्न देवदह-९ स्थित कोटियादेवी मन्दिर संरक्षण समितिको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा यस क्षेत्रमै पहिलो पटक १२१ युनिट रगत संकलन भएको जनाईएको छ।
रूपन्देही जिल्ला र आसपासका क्षेत्रमा समेत रगत अभाव भएको जानकारीपछि आकस्मिक रूपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तादाताको उल्लेख्य सहभागिता रहेको र अपेक्षाकृत रगत संकलन भएको कार्यक्रम संयोजक पवन पौडेलले जानकारी दिए।
देवदह क्षेत्रका सबैजसो रक्तदान कार्यक्रममा सहयोगी संस्थाको रूपमा सहभागी हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका कृष्ण चौहानले देवदह क्षेत्रमा हालसम्म कै सर्वाधिक रगत संकलन भएको बताए।
कार्यक्रममा रक्तदान गर्नेमध्य ४१ जना रक्तदाताले पहिलो पटक रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ।

रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहयोगमा आयोजित उक्त कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ९ का अध्यक्ष मोहन जिसी, मन्दिर संरक्षण समितिका अध्यक्ष नित्यानन्द खनाल लगायतले रक्तदातालाई रक्तदानको प्रमाण पत्र प्रदान गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology