काठमाडौं। लामो प्रयासपछि सत्तारूढ नेकपा एमाले र विद्रोही एमालेविच सहमति जुटेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको हो । दुवै पक्षका नेताहरूको कार्यदल सम्मिलित बैठकले आइतबार साँझ अबेर सहमति जुटाएको एक नेताले जानकारी दिए ।
आइतबार बिहान ९ बजेदेखि बसेको कार्यदलको बैठकले १२ घण्टापछि सहमति जुटाएको हो। एकता सहमतिको पहिलो बुँदामा 'पार्टीमा देखिएका अन्तरविरोध पार्टीभित्रै विधिसम्मत ढंगले टुंगोमा पुर्याउन सहमत हुनेछौ' उल्लेख छ। त्यस्तै २०७५ जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् भनिएको छ।
यसैगरी बुँदा नम्बर ३ मा सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक संगठनात्मक काम कारबाही मान्य नहुने उल्लेख छ।
यस्तै सर्वोच्चमा विचाराधीन मुद्दालाई असर गर्ने गरी कुनै पनि क्रियाकलाप वा अभिव्यक्ति नदिने प्रस्ताव पनि १० बुँदे सहमतिमा गरिएको छ । यो सहमतिको प्रस्तावलाई दुवै शीर्ष नेताहरूलाई दिएर भोलिको स्थायी समितिको बैठकमा पेस गर्ने बताइएको छ ।
एमालेभित्रको उक्त सहमतिले एमाले प्रवेश गरेका पुर्वमाओबादी नेताको हैसियत के हुने भन्ने प्रश्न उठेको छ । सहमतिमा उनीहरुबारे ठोस रुपमा उल्लेख नगरिए पनि नेकपा हुँदाको अवस्थामा उनीहरूको जुन भुमिका थियो त्यही कायम रहने भनिएको छ । उक्त सहमति अनुसार रामबहादुर थापा 'बादल' अब पार्टीको सचिवालय सदस्यमात्र हुनेछन्, जब कि पार्टी बिभाजनका बखत बादललाई पार्टीको सह-अध्यक्ष बनाउने आश्वासन पाएको एमाले प्रवेश गरेका पुर्वमाओवादी नेताले बताउँदै आएका छन् ।
यस्तो थियो एकताका लागि गरिएको १० बुँदे सहमतिको प्रस्ताव

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology