काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्ने शक्तिले संविधान संशोधन गर्न नदिएको आरोप लगाएका छन् ।शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा एमालेप्रति लक्षित गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
उनले दोस्रोपटक प्रधानमन्त्री बनेको बेला संविधान संशोधन प्रस्ताव रोकेको आरोप लगाएका हुन् । ‘तपाईँहरूलाई थाहै छ । म सिराहबाट दोस्रोपटक निर्वाचित भएपछि दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ’, उनले भने, ‘मधेशको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव ल्याएको थिएँ । तर पटक पटक संविधान च्यात्न खोज्ने र संसद विघटन गर्ने शक्तिले संशोधन हुन दिएनन् ।’
जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्तिहरू सरकार र मोर्चामा रहेकाले देशको आमुल परिवर्तन सम्भव रहेको उनले जिकिर गरे । ‘समाजवादी मोर्चामा जनयुद्धको कमाण्डर रहेको व्यक्तिले सरकारको नेतृत्व गरेको छ । पटक पटक जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्ति सरकारमा र मोर्चामा छन् ।
अहिले परिवर्तन नभए कहिले हुन्छ । सुशासन र समृद्धिको यात्रालाई वर्तमान सरकारले नै पुर्याउँछ’, उनले भने कार्यक्रममा प्राप्त उपलब्धिलाई बदनाम गराउन केही शक्ति लागेको उनको आरोप छ ।
उनले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट भएको परिवर्तनलाई विकृत बनाउने, बदनाम गराउने कुचेष्टाका साथ ती शक्तिहरू लागेकाले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडक तीनवटै मोर्चा प्रभावकारी बनाउन समाजवादी मोर्चा घोषणा गरेको उनले जिकिर गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology