देवदह । "बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ शुक्रबार ५९औं राष्ट्रिय बालदिवस देशभरि मनाईयो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित देशका उच्च पदपदस्थ अधिकारीहरूले बालदिवसको शुभकामना दिए । प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा देशभरी विविध कार्यक्रम गरेर बालदिवस मनाईने उल्लेख छ। सोही अनुसार देशका अधिकांश स्थानमा बालदिवस विशेष कार्यक्रम संचालन भए। तर रुपन्देहीको देवदह नगरपालिकालाई भने बालदिवसले छोएन, यो वर्ष नगरपालिकाको आयोजनामा कुनै औपचारिक कार्यक्रम नगरी बालदिवस बिदा भयो।
देवदह नगरपालिकाको आयोजनामा बालदिवस विशेष केके कार्यक्रम हुँदैछन् भन्ने प्रश्नमा देवदह नगर प्रमुख ध्रुबप्रसाद खरेलले पालिकाले कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरेको बताए।
नगर सभाबाट चालु आर्थिक वर्षभित्र देवदह नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने र त्यसको लागि आवश्यक सूचकहरू पुरा गर्न गतिविधि संचालन गर्ने निर्णय गरेको नगरपालिकालाई बालदिवसले नछुनु दुखद भएको बालबालिकाको क्षेत्रमा काम गर्ने बालधिकारकर्मीहरू बताउछन । सेतोमसीसंग कुरा गर्दै एक बालअधिकारकर्मी भन्छन, 'सके आज एकदिन बालबालिकालाई नगर प्रमुख तथा उपप्रमुख बनाएर बालमैत्री अभ्यास गरिनुपर्थ्यो, त्यो पनि नसके कम्तिमा बालबालिकासंग सम्बन्धित कुनै रचनात्मक कार्यक्रम नगरपालिकाले आयोजना गर्नुपर्थ्यो । बाल दिवसबारे नगरपालिका बेखबर जस्तै हुनुले बालबालिकाप्रति नगर सरकार गम्भीर छैन भन्ने सन्देश जान सक्छ ।'
त्यसो त नगरपालिकाले औपचारिक रूपमा कुनै कार्यक्रम आयोजना नगरे पनि वडा नम्बर ५ ले आफ्नै सिर्जनशिलतामा टोलटोलमा प्रशिक्षण र वडा अन्तरगतका विद्यालयमा बाल प्रतिभा प्रदर्शनका कार्यक्रमहरू संचालन गरेको छ भने नगरभित्रका विभिन्न विद्यालयहरूले पनि विविध कार्यक्रम गरि बालदिवस मनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology