जिन्दगी भन्नु सम्झनाकाे पाेकाे रहेछ। उमेरले ५ दशक कटायाे। बाल्यकालकाे धेरै सम्झना आयाे। परदेशमा छाेरी ज्वाइँसङ्ग बस्दै गर्दा १ वर्षकाे फरकमा दुई सन्तानकाे आमा भए कि कान्छि छाेरी प्रज्ञा गहतराजकाे सुत्केरी सेवा गर्दै गर्दा २०८० सालकाे तीज पर्वले छाेयाे। जुम मार्फत भगवत गीताकाे ज्ञान प्रदान गरिरहनु भएका आदरणिय अर्थशास्त्र विद डा. बाबुराम ज्ञवाली गुरूले हामी ८ जना शिष्यहरू मीना देवि सापकाेटा, गङ्गा पाैडेल, हरिकला ज्ञवाली, शान्ती आचार्य, उर्मिला श्रेष्ठ, सारदा कार्कि, धर्मराज प्रसाईलाई जुम मार्फत तीज मनाईदिनु भयाे। २०८०/५/१९ गते तीजकाे दर तीज गीत सुनाएर मनायाैं। मैले बाल्यकालमा बर्मेली बस्तिमा सुनेकाे तीज गीत स्मरण गरेर सुनाएँ।
आ ...
दिदीलाई त दियाैं बाबा सुबिदारका छाेरालाई
मलाई त दियाै बाबा भाेटे लामालाई
सुबिदार त आए बाबा हात्ती घाेडा चढेर
भाेटेलामा आए बाबा लाैराे टेकेर
सुबिदार त आए बाबा गुन्द्रि कम्मल बिछ्याई देउ
भाेटे लामा आए बाबा थाेत्त्रे बाेरी देउ
सुबिदार त आए बाबा लड्डु पेडा बाेकेर
भाेटे लामा आए बाबा सिन्की बाेकेर
याे गीत सुनाए पछि आमाकाे काखमा रमाएकाे बाल्यकालकाे तीजकाे सम्झना लेख्न ट्यावलेटमा अनायासै औंला चल्याे।
पहिलाे सम्झना यस्तै २०३२ साल तिरकाे हाेला म यस्तै ५ /६ बर्ष कि थिएँ । फेरि पाठकले नपत्याउनु हाेला म ३ वर्षकाे हुदाँ मेराे अन्तरे दाजु राेशन रसाइली सुशिलाकाे विवाहकाे रमझमका केही झलक आखामा छ। यसैले पनि ५ /६ वर्षकाे कुरा याद छ भनेकाे। हाम्राे घरमा लगभग १२ जनाकाे परिवार थियाे। आमा भाउजु दिदीहरूले कृष्ण जन्मअष्टमि र तीजकाे व्रत बस्नु हुन्थ्याे। व्रत बस्दा फलफुल मात्र खाएकाे देखेर मलाई पनि तीजकाे व्रत बस्न मन लाग्याे। "आमा म पनि व्रत बस्छु" भने। "आमाले भात खान हुदैन नि" भन्नुभयाे। "हुन्छ" भन्दै म पनि तीजकाे व्रत बसेँ। आमा सानीमा फुपू सङ्ग धरानकाे गीता मन्दिर पछि लागेर गएँ। त्यहाँ शिव लिङ्गमा पानी चडाँएर पुजा गरेकाे याद छ। हाम्राे घरदेखि हिडेर यस्तै आधा घण्टाकाे बाटाे थियाे। मन्दिरबाट आएर आमाले आफ्नाे श्रीमानकाे खुट्टाकाे दुई बुढि औला धुन काँसकाे लाेटाबाट एउटा हातले जल खनाएर अर्काे हातले औला धुएर सुरुप सुरप जल खानु भयाे। याे क्रम आमाले हरेक तीजमा गरेकाे देखे। त्याे दिन व्रत बसेकाे भनेर मलाई पनि छेउमा राखेर आमाले फलफुल खुवाउनु भयाे।
धरानकाे छाता चाेकमा हाम्राे यादगार फाेटाे स्टुडियाे थियाे। राती यस्तै १० बजे तिर ४ जना राेसन, किरण, प्रकाश, राजकुमार रसाइली दाजुहरू घर आउनु भयाे। दाजुहरूलाई आमाले खाना खान दिनु भयाे। दाजुहरूले खाना खादै गर्दा आज बैनीले पनि तीजकाे व्रत बस्याे नि भनेर आमाले खुशी हुँदै सुनाउनु भयाे। बिहान अरूले खाना खादा यसले खाईन नि भन्नु भयाे। म सानि भए पनि बिहान घरका केही सदस्यले दाल भात खादाँ मलाई कति तलतल लागेकाे थियाे, अझै पनि याद छ। याे कुरा सुने पछि किरण दाजुले आहा! हाम्री गङ्गीले पनि व्रत बसेकाे कति भाेक लाग्याे हाेला नि भात खान्छेस आईज भनेर काँखमा राख्नु भयाे। ला खा भन्दै आफ्नाे गाँसबाट कुपुकुपु खुवाउन भयाे। राती घरमा हाँसाेकाे फाेरा गलल्ल छुट्याे। याे नै मेराे जिन्दगीकाे यादगार व्रतभयाे।
गृहस्ति जीवन १८ वर्षमा भैरहवामा नै भयाे। एकल परिवार थियाे। तीजमा माईति घर भैरहवा लुम्बिनी शिशु सदन दाजु भाउजु कहाँ जाँदा व्रत बस्ने राैनक थिएन। मनले पनि याे उमेरसम्म आउँदा व्रत बस्न करै गरेन। तर तीजमा आमाले आफ्नाे श्रीमानकाे खुट्टाकाे जल खाएकाे देखेर व्रत नबसे पनि मैले २/४ वर्ष श्रीमानकाे खुट्टाकाे जल रहरले खाएँ। पछि खुट्टा मात्र ढाेग्न थाले। अचेल हरेक बिहान हातमा ढाेग्ने गर्छु।
अर्काे सम्झना याेग्य कुरा हाम्राे घर धन्कुटे राेड बुद्ध मन्दिर नजिक वार्ड नम्बर ८ मा थियाे। हाम्राे टाेलामा धेरै राई लिम्बु भएकाेले तीजकाे रमझम हुदैनथ्याे। हाम्राे परिवार बर्माबाट आएकाेले बर्मेलि क्षेत्री बाहुनीहरूले मेरी आमालाई नाचगानकाे लागि बर्मेली बस्तिमा बाेलाउनुहुन्थ्याे। अनि राती घर धन्दा भ्याएर बर्मेली बस्ती भाेटेपुल जानु हुन्थ्याे। म पनि साथमा जान्थे। म त्यहाँ आमाकाे पछि लागेर १२ वर्षकाे उमेरसम्म गएकाे याद छ। त्याे बेला मादल र थप्डीकाे तालमा माैखिक तीजकाे गीत धन्किन्थ्याे। साथीहरूले पालैसङ्ग नाच्न बाेलाउँदा मेरी आमा सुमित्रा देवि कान्छी सानिमा पधमा पन्थिले "खै नाच्न जान्दिन" भन्दै एकै छिन लजाउदै नाच्नु हुन्थ्याे।
त्याे बेला बर्मेलि आमा दिदीहरूले तीजकाे रमझममा राती नाचगानमा बर्मेली पहिरन लुङ्गी चाेलाे नै लगाउनु हुन्थ्याे। र मजेत्त्राे छातिमा सप्काेबेर्नु हुन्थ्याे। बुडिआमाहरूकाे टाउकामा राताे फेटा हुन्थ्याे । गरगहना पनि झपक्क हुदैनथ्याे। बर्मेली बस्ती भेटेपुल अहिले हिमाली मार्ग नाम करण भएकाे छ।
बर्मेलिहरूकाे बस्ति हाम्राे घरबाट हिडेर यस्तै २०/ ३० मिनेटकाे बाटाे थियाे। ९/१० बजे राती हामी यस्तै ६/७ जना जान्थ्याै। मध्य राती २/३ बजे घर फर्किन्थ्याै। म सानाे हुदाँ हरितालिका तीज र ऋषि पन्चमिमा बर्मेलीहरूकाे बस्तिमा गएर नाचेकाे अझै झलीझली अाँखामा छाउँछ। यी मध्ये ९० वर्ष कि खीनमाया कटवालनि बजै त्यहि टाेलामा हुनुहुन्छ। उहाँकाे नाम मैले उहाँकाे बर्मेली जेटाे ज्वाइँ हाेम बहादुर कार्कि दाजु सङ्ग नाम पत्ता लगाएँ। उहाँ बाेजुलाई म धरान माईति देश जादाँ ५ वर्ष अगाडि भेटे कि थिएँ। १९ गते भएकाे जुम कार्यक्रममा पुरानाे गीतलाई मान्यता दिन पर्छ मनेर सानाे हुदाँ ४/५ बर्ष सम्म लगातार सुनेकाे धेरै गीत मध्ये माथी उल्लेखित गीत नै मेराे दिल दिमागमा बसिरहेकाेले स्मरण गरेर सुनाएँ। अहिले याे गीतकाे मर्म धनी र गरीब बिचकाे भिन्नता झल्किएकाे महसुस गरायाे।
२०४० सालमा बा-आमा काख छाेडेर १४ वर्षमा ठुलाे दाजु भाउजु साथ भैरहवा आए। २०४२ साल चैत ३० गते आमा ५४ वर्षमा नै बित्नु भयाे। बाबा अभिचन्द्र रसाईली ८० वर्षमा ०४८ साल चैतमा बिदा हुनु भयाे। यस्तै माथी उल्लेखित नाम भएका दाजुहरू पनि याे मायावि जालाेबाट याे संस्मरण लेख्दासम्म बिदा भईसक्नु भयाे। राजकुमार नामकाे दाजु धरानकाे पव्लिक हाईस्कुल पढ्दा सरस्वतिकाे मुर्ति सेलाउन जादाँ १८ वर्षमा २०३४ सालमा नै बित्नु भयाे।
जिन्दगी भन्नु यस्तै रहेछ मिलन र बिछाेडकाे सङ्गम रहेछ। आज म समयकाे दाैरानमा परदेश आए। याे उमेरमा बाल्यकालकाे सम्झनामा तीज लेख्ने सुवर्ण प्राप्त भएकाे मा समयलाई धेरै धन्यवाद।
गङ्गा अभिलाषी
काेलाेराडाे, संयुक्त राज्य अमेरिका
(२०८०/५/३०)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology