पोखरा । पोखरामा प्रधान कार्यालय रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले आसन्न दशैँका लागि असोज २१ गतेदेखी टिकट अग्रिम बुकिङ खुला गरेको छ ।
कम्पनीले पोखरास्थित प्रधान कार्यालय फिर्केबाट र कम्पनीका अन्य सेवा प्रदायक कार्यालय अन्तरगतका काउण्टरहरुबाट गन्तव्यमा पुग्नका लागि अग्रिम टिकट उपलब्ध हुने जनाएको छ । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले यात्रु बस सेवा संचालनमा घाटा सहेर भएपनि अग्रिम टिकट बुकिङ खोल्ने निर्णयमा पुगेको बताए ।
उनले सडकको अवस्था र मूल्य वृद्धिको अनुपातमा भाडा समायोजन गरिदिन विभिन्न निकायहरुमा अनुनय विनय गरिएपनि सरकार उदासिन बन्दा आफूहरुले घाटामा सेवा प्रदान गर्दै आएको बताए ।
अध्यक्ष केसीले चाडपर्वका वखत यात्रुहरुको आवश्यकता, मर्म, भावना र सुविधालाई मध्यनजर गर्दै गैह्र जिम्मेवार र उदासीन बन्न हाम्रो नैतिकताले नदिने हुँदा सरकारका विभिन्न निकायमा पेश गरिएका हाम्रा मागहरु यथावत कायम राख्दै हालका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णयमा पुगेका हौँ ।”
यातायात व्यवसायीहरुले सडकको अवस्था र मूल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न सरकारसँग माग गर्दै आएका छन् । त्यसैगरी पोखरा मुग्लिन खण्डको मुख्य सडक र नारायणगढ बुटवल खण्डको मुख्य सडक विगत लामो समयदेखि स्तरोन्नतिका नाउँमा अति जिर्ण अवस्थामा रहेकाले आफूहरु पीडित बनेको यातायात व्यवसायीको गुनासो छ ।
राजमार्गमा धुलो हिलोका कारण सवारी साधनहरुको पार्टपूर्जा, इन्जीन, गियर बक्स हरु खराब हुन गई पटक–पटक मर्मत सम्भार गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पार्टपुर्जाको मूल्य वृद्धिको अनुपातमा भाडा समायोजन नहुनुले यातायात ब्यवसायीहरु धराशायी हुँदै आएको अध्यक्ष केसीले बताए ।
पृथ्वीराजमार्ग बस कम्पनी अन्तर्गतका एक हजार दुई सय बसले देशका विभिन्न भागहरुमा रात्रि तथा दिवा सेवामा यात्रुहरुलाई यातायात सेवा दिँदै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology