रुपन्देही । रुपन्देहीको देवदहस्थित स्वर्णिम सगरमाथा क्याम्पसकी छात्रा सुस्मा गैरे भर्खरै प्रकाशित विविएस अन्तिम बर्षको नतिजा अनुसार नेपाल प्रथम भएको स्वर्णिम सगरमाथा क्याम्पसले दावी गरेको छ । हालसम्म अन्य कुनै क्याम्पसले त्यस प्रकारको दावी नगरेको हुनाले उनी नै विविएस तर्फ नेपाल प्रथम भएको बुझ्न सकिन्छ ।
अहिले हामीकहाँ उच्च शिक्षाका लागि ठुला शहरमै डेरा गरि बस्ने वा कतिपय अवस्थामा देश नै छोडेर अध्ययनकै लागि विदेशीने यूवाहरूको ठूलो पंक्ति छ । 'क्वालिटी एजुकेसन' का नारा बेच्ने ठूला शहरका ठूला कलेजहरूले विद्यार्थीलाई आकर्षित गर्न विज्ञापनमा राम्रै लगानी गर्छन् । जुन लगानी अन्ततः तिनै विद्यार्थीका ढाड सेकेर उनीहरूले असुल गर्ने गर्दछन । यसरी एकातिर महंगो डेरा वा होस्टेल त अर्कोतर्फ उत्तिकै महंगो कलेज शुल्कको चेपुवामा परेर अभिभावकहरू आजित भइयो भन्दै हिडेको हामी देख्न र सुन्न पाउँछौं ।
तर, स्थानीय स्तरमै पनि सरकारी हुन् या निजी नै किन नहोउन्, राम्रो नतिजा दिने कलेजहरूको संख्या बढ्दै गईरहेको छ । जसको गतिलो उदाहरण हुन् - नेपाल प्रथम हुन सफल स्वर्णिम सगरमाथा क्याम्पसकी छात्रा सुस्मा गैरे । प्रस्तुत छ, सुस्मा गैरेसंग सेतोमसी सहकर्मी रेशम अधिकारीले गर्नुभएको सेतोमसी संवादको सम्पादित अंश - सम्पादक
सुस्मा जी यहाँलाई स्वागत छ सेतोमसीमा ।
धन्यवाद !
भर्खरै प्रकाशित विविएस अन्तिम बर्षको नतिजामा तपाईंले ८२ प्रतिशत अंक प्राप्त गरि विविएस संकायतर्फ नेपाल प्रथम हुनुभएको छ । कस्तो लागिरहेको छ ?
नेपाल प्रथम भएकोमा धेरै नै खुसी छु । मैले जुन मेहनत गरेको थिएँ । त्यसको फल प्राप्त गरेकोमा म आफ्नो मेहनतप्रती गौरब गरेकी छु ।
के साच्चै तपाईंलाई ८२ प्रतिशत अंक सहित नेपाल प्रथम हुन्छु भन्ने लागेको थियो ?
नेपाल प्रथम नै त हुन्छु नै भन्ने लागेको थिएन । तर, मैले ८० प्रतिशतमाथी चै रिजल्ट ल्याउँछु भन्ने लागेको थियो । मैले फाइनन्सको सबै पेपर राम्रो गरेकी थिएँ ।
यति ठूलो सफलता कसरी प्राप्त गर्नुभयो ?
सर्वप्रथम त मेरो सफलतामा स्वर्णिम सगरमाथा क्याम्पसले नै लगानी गरेको छ । यहाँको शिक्षकहरूले अत्यन्तै गाइड गर्नुभयो । मैले पनि कलेज अनि घरमा पनि अध्ययनमै जोड दिएँ । जसले गर्दा यो सफलता प्राप्त गर्न सफल भएँ कस्तो लाग्छ ।
राम्रो अंक ल्याएर उत्तीर्ण हुन एउटा विद्यार्थीले के गर्नुपर्ने रहेछ ? कसरी पढ्नुपर्ने रहेछ ?
सर्वप्रथम कक्षामा नियमित उपस्थित हुनुपर्छ । नोट बनाउने, नबुझेको सरलाई सोधिहाल्ने । मुख्यत: जहाँ जे भएपनि पढाईलाई नै प्राथमिकता दिनुपर्छ ।
तपाईंलाई सबैभन्दा मन पर्ने विषय चै के हो ?
मलाई सैद्धान्तिक भन्दा प्रयोगात्मक मन पर्छ । त्यसैले मैले ऎच्छिक विषय पनि फाइनान्स रोजेको हो । मलाई फाईनान्स नै मन पर्छ ।
राम्रो अंक ल्याएर स्नातक उत्तीर्ण हुनुभएको छ अब स्नातकोत्तरको योजना के छ ? कहाँ गएर पढ्ने सोंच्नुभएको छ ?
पढ्नको लागि ठुलै शहरमा जानुपर्ने रहेनछ । आफुले मेहनत गर्ने हो र कलेजमा पनि राम्रो बाताबरण हुने हो भने गाउँघरकै कलेजमा पढेर पनि राम्रो रिजल्ट पाउँन सकिन्छ भन्ने लाग्छ । मास्टर डिग्री देवदहमा त उपलब्ध छैन त्यसैले यहि नजिकैको शहर बुटवलबाटै एमविएस सकाउने सोंचेकी छु ।
एमविएस सकाईसकेपछी के गर्न वा के बन्न चाहानुहुन्छ ?
मैले फाइनान्स विषय रोज्नुको मुख्य लक्ष्य नै म बैंकिङ क्षेत्रमा काम गर्नलाई हो । त्यसैले पढाइ सकिईसकेपछी कुनै बैंकमा काम गर्दै गएर पछि म सफल बैंकर बन्न चाहान्छु ।
तपाईं विवाहित हुनुहुन्छ, हाम्रो समाजमा अधिकांश महिलाहरू बिहेपश्चात् पढाइ नै छाडिदिनुहुन्छ । जसमा कतिपय अवस्थामा उहाँहरूको परिवार कारक बन्दछ भने धेरै हदसम्म महिला स्वयं नै बिहे भयो अब किन पढ्नुपर्यो र भनेर विचमै पढाइ छोड्नुहुन्छ । तर तपाईंले त यसरी पढ्नुभयो कि नेपाल प्रथम नै हुनुभयो । यो सफलताको प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ ?
सर्वप्रथम त म मेरो सासुलाई प्रेरणाको स्रोत मान्छु । उहाँले मलाई सधैं पढ्नुपर्छ भन्नुभयो । त्यसैगरि मेरो श्रीमान, ससुरा बुवा, बाबा, मम्मी साथै स्वर्णिम सगरमाथा क्याम्पस परिवार सबै मेरा प्रेरणाका स्रोत हुनुहुन्छ ।
अनि विहेपश्चात विचमै पढाइ छाड्ने महिलाहरूलाई के भन्न चाहानुहुन्छ ?
विवाहित महिलाले त झन् पढ्नुपर्छ । साँझ वा विहान जतिबेला समय मिल्छ, समय मिलाएर पढ्नुपर्छ । धेरै पनि पढ्नुपर्दैन दिनमा १-२ घण्टा मात्रै पनि घरमा पढ्ने हो भने सजिलै पास हुन सकिन्छ । मुख्य कुरा समय व्यवस्थापन हो र त्यो व्यक्ति स्वयंले गर्ने हो । त्यसैले म विवाहित महिलालाई पढाइ नछाड्न र नियमित अध्ययन गरी आफु स्वावलम्बी हुनुपर्छ भन्न चाहान्छु ।
अन्त्यमा हामीमार्फत के भन्न चाहानुहुन्छ ?
जो पनि सपना बोकेर बस्नुभएका विद्यार्थीहरूलाई राम्रो पढाईको लागि बाहिर नै जानुपर्छ भन्ने छैन । आफ्नै स्थानीय गाउँ ठाउँका शिक्षण संस्थामा पढेर पनि सफलता प्राप्त गर्न सकिन्छ भन्न चाहान्छु ।
सुस्मासंग गरिएको कुराकानीको भिडियो:
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology