धुर्ब लामिछाने, देवदह । रुपन्देहीको देवदह ७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
बुधबार विद्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको हो ।
बधाई तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय परिक्षा बोर्ड क्षेत्रिय कार्यालय लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले सगरमाथा आवासीय माविले प्राप्त गरेको नतिजाको प्रशंसा गरे । तिवारीले राष्ट्रलाई समृद्ध बनाउन युवाको हात महत्त्वपूर्ण भूमिका हुने भन्दै अबका नयाँ पुस्ताले विदेशको मोह त्यागेर स्वदेशमै मिहेनत गर्न समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयका शिक्षक, विद्यार्थीको मिहिनेतको फलस्वरुप पालिकामै उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको बताए। 'आमा बाबुले आफ्ना छोरा छोरीहरूको भविष्य बनाउन हामीलाई सुम्पनु भएको छ, हामी त्यसलाई त्यसै खेर जान दिने छैनौं ' उनले भने ।
बधाई तथा सम्मान कार्यक्रममा राष्ट्रिय अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, क्यापस व्यवस्थापन समितिका संचालकद्वय हिरा बहादुर खत्री, विष्णु प्रसाद पौडेल र विद्यार्थीहरु यम बोहोरा र जय भण्डारीलगायतले आ - आफ्नो मन्तब्य राखेका थिए।
कार्यक्रममा शतप्रतिशत नतिजा ल्याउने शिक्षकहरु माधव भट्टराई, कृष्ण आचार्य, सुविराम कार्की, शरद भण्डारी, दिपेश बिक्रम मल्ल, बिमल तिवारी र प्रदीप अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो ।
सगरमाथा आवासीय माविबाट कक्षा १२ को परीक्षा दिएका यम बोहोराले ३.७६ जिपिए प्राप्त गरि देवदह नगरपालिका प्रथम भएको विद्यालयको दावी छ । ३.७३ जिपिए प्राप्त गरि साहिल सोमरे द्वितीय र ३.७२ जिपिए प्राप्त गरि जय भण्डारीले नगरपालिकामै तृतीय स्थान हासिल गरेको प्राचार्य पौडेलले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology