बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस गौतमबुद्धको जन्मभूमि लुम्बिनीबाट विश्व शान्तिका लागि आह्वान गरेका छन् । मंगलबार लुम्बिनीको भ्रमणपछि पत्रकारमासँग बोल्दै लुम्बिनीको शान्ति भूमिबाट शान्तिको सन्देश दिन आफू यहाँ आएको गुटरेसले बताएका हुन् । 
उनले हाल संसारभर देखिएको द्वन्द्वको अन्त्यको लागि लुम्बिनीबाट आह्वान समेत गरे । उनले भने, ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।’ इजरायल, प्यालेस्टाइन, सुडानलगायत देशमा जारी द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै उनले बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा खुसी व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनको विषयमा चासो पनि राखेका थिए ।
आज बिहान पोखराबाट लुम्बिनी पुगेका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए । यस्तै पर्यटन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, लुम्बिनीका पर्यटन व्यवसायी, स्थानीय आमा समूह र विभिन्न जातीय संस्कृति सहितका स्थानीयले उनलाई स्वागत गरे । उनी लुम्बिनीबाट काठमाडौँ फर्किएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology