Logo

२०८३, आश्विन १७गते


images
images

वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका केशवबहादुर

वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका केशवबहादुर

images
  • वैदेशिक रोजगारीपछि बाख्रापालनमा रमाएका केशवबहादुर
    images
    images

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका ३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन्।

    images
    images
    images

    पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त आम्दानी गरिरहेका छन्। ‘पन्ध्र वर्ष कुवेतमा रोजगारी गरेँ, सधैँ परिवारसँग बिछोडिएर विदेश बस्न मन लागेको थिएन’, उनले भने, ‘स्वदेश फर्केपछि रु छ लाख लगानी गरेर घरमा व्यावसायिक बाख्रा पाल्न थालेको हुँ।’

    images
    images
    images

    विदेशमा मासिक ५० हजार कमाइ गर्ने केशवबहादुरले अहिले सोबराबरको कमाइ बाख्रापालनबाट हुने गरेको बताए। कम लगानी र थोरै मेहनतमा प्रशस्त आम्दानी गर्न सकिने भएकाले बाख्रा पाल्ने सोच आएको उनको भनाइ थियो।

    images
    images
    images

    ‘वार्षिक खसीबोका बिक्रीबाट चार लाखसम्म आम्दानी हुने गरेको छ’, केशवबहादुरले भने, ‘भैँसी, बंगुर पनि पालेको छु। त्यस छुट्टै कमाइ भइरहेको छ।’ अहिले खोरमा ४५ वटा बाख्रा रहेका उनले जानकारी दिए। उनका अनुसार आगामी वर्ष बिक्रीका लागि तयार गर्ने गरी अहिले २५ वटा पाठापाठी हुर्किरहेका छन्।

    बाख्रालाई चाहिने दाना, पानी, घाँस, पराल सबै आफैँले गर्ने गरेको केशवबहादुरले बताए। ‘जमुनापारि जातका बाख्रा पालेको छु। तीन वर्ष भयो, आम्दानी प्रशस्त भइरहेको छ। यसबाट जीविकोपार्जनमा सहज भइरहेको छ’, उनले भने, ‘एउटा खसी एक वर्षमा ४५ किलोसम्मको बनाएर बेच्ने गरेको छु। एउटा खसी बेच्दा २५–३० हजारसम्म पर्ने गरेको छ।’

    कालीगण्डकी करिडोरअन्तर्गतको गैँडाकोट रामपुर सडक खण्डसँगै जोडिएको घरमा केशवबहादुरले दुईवटा आधुनिक बाख्राको खोर बनाएका छन्। अरूभन्दा छिटो आम्दानी हुने र मेहनत पनि कम लाग्ने भएकाले बाख्रा पाल्न थालेको उनको भनाइ थियो। ‘विदेश छाडेर आएपछि व्यावसायिक बाख्रापालन थालेको छु। यहीँ पेसालाई निरन्तरता दिँदै जाने हो’, उनले भने।

    घाँसका लागि दुई बिघा जमिनमा घाँस खेती गरेको केशवबहादुरले जानकारी दिए। ‘बर्खा मौसमलाई पनि हुने गरी पाखो बारीमा घाँस लगाएको छु। हिउँदका लागि घर नजिकैको खेतमा लगाएको छु’, उनले भने। कुवेतमा दैनिक १२ घन्टा श्रम गरेर फर्केको अनुभव अझै ताजा रहेको बताउँदै अहिले घरआँगनमा परिवारसँगै काम गर्न पाउँदा धेरै सहज भएको उनले अनुभव सुनाए।

    बाध्यताले विदेश गएको भन्दै केशवबहादुरले गाउँघरमा आम्दानीका अवसर खोज्न सकिने बताए। ‘विदेशमा गर्ने मेहनतको आधा मेहनत मात्र यहाँ गर्ने हो भने राम्रो कमाइ हुने रहेछ’, उनले भने, ‘अहिलेका युवा पुस्तालाई काम सानो ठूलो हुँदैन भन्ने बुझाउन सके परदेशमा दुःख पाउने थिएनन्।’

    कृषि तथा पशुपालनमा विभिन्न अनुदान र सहुलियत पाइने सुनेको भए पनि अहिलेसम्म कहीँ कतैबाट सहयोग नपाएको केशवबहादुरले बताए। उनले भने, ‘अनुदान अहिलेसम्म केही पनि पाएका छैनौं। सरकारी अनुदान साना किसानका लागि अनुदान तथा तालिमको व्यवस्था गरे सहज हुने थियो।’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।